काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन निलम्बित महानिर्देशक चुडामणि शर्मा लगायतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्च अदातलमा आइतबार पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्।
प्रवक्ता घिमिरेका अनुसार चुडामणि शर्मा र उनकी श्रीमती कल्पना उप्रेती शर्माका बारेमा विशेष अदालतले गत जेठ १८ गते गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आयोगको दाबीमा ‘दाबी नपुग्ने’ ठहर गरेको थियो।
तर, आयोगले विशेष अदालतको सो फैसलामा चित्त नबुझेको भन्दै विभिन्न जिकिर लिँदै सर्वोच्चमा पुनरावेदन गरेको छ।
आयोगका अनुसार चुडामणि शर्माको जाँच अवधिको समग्र व्यय ७ करोड १५ लाख ७३ हजार ३८ रुपैयाँ र आय ३ करोड ७० लाख ४० हजार ६ सय ८१ रुपैयाँ १५ पैसा देखिएको छ।
यस अर्थमा शर्माले ३ करोड ४५ लाख ३२ हजार ३५६ रुपैयाँ ८५ पैसा बराबरको रकमको स्रोत पुष्टि गर्न नसकेको आयोगको दाबी छ।