धनुषा : मिटरब्याजीले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि पीडितहरु रातभर धर्ना बसेका छन्।
विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको भन्दै पीडितहरु रातभर धर्ना बसेका हुन्।
निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि रातभर धर्ना बसेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले जानकारी दिए।
बिहीबार बिहान ७ बजे प्रहरीले मिटरब्याजी निरौला विरुद्ध जाहेरी लिएपछि धर्ना स्थगित गरेको उनले बताए। धर्नामा पासवान पनि बसेका थिए।
निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी दर्ता गरिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बु जानकारी दिए।
निरौलालाई बुधबार अदालतबाटै नियन्त्रणमा लिएर मेडिकल गरी हिरासतमा राखेको एसपी लिम्बुले बताए।