कञ्चनपुर : माहाकाली सिँचाइ द्वितीय चरणअन्तर्गत शिवनगर मेन नहर फुट्दा कञ्चनपुरका कृषकलाई सिँचाइ गर्न समस्या भएको छ।
जिल्लाको बेलडाँडी गाउँपालिका-५ भुर्सा विद्यालय नजिक र वडा नम्बर ३ वनपूर्वमा नहर फुट्दा कृषकलाई समस्या भएको हो।
नहर फुट्दा पानी सप्लाई बन्द भएको महाकाली सिँचाइ जल उपभोक्ता समितिका केन्द्रीय अध्यक्ष भीमबहादुर थापाले बताए।
जिल्लाको बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका किसानहरु गहुँ ,लाहीलगाएतका अन्नबाली र तरकारीमा सिँचाइ गर्न समस्या भएपछि दुखि छन्।
नहर फुट्दा बेलडाँडीका झिलमिला बैवाह र बैलाैरीका भुडा, सडकघाट, शिवनगरका किसान समस्यामा छन्।
‘चार दिन भयो , दुई ठाउँ नहर फुटेको’ अध्यक्ष थापाले भने, ´मर्मत गर्न समितिसँग बजेट, साधन छैन्। भएको जेसीबी अफिसले फिर्ता लग्यो।’
नहर गत वर्ष पनि झिलमिला फुटेको थियो। सोही ठाउँमामा यसपटक पनि फुटेको थापा बताउँछन्।
साधन जुटाएर यो हप्ता भित्र मर्मत गरि पानी छोड्ने प्रयास गर्ने अध्यक्ष थापाको भनाइ छ। तीन दशक अघि विश्व बैंकले यो नहर निर्माण गरिदिएको थियो।