काठमाडौं– विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्वीटरलाई खरिद गरेका छन् । उनले ट्वीटर ४४ अर्ब डलरमा खरिद गरेका हुन् ।
मस्कले हिजो राती एक बयान जारी गर्दै ट्वीट गरे, ‘वाक स्वतन्त्रता लोकतन्त्रको आधारशिला हो र ट्वीटर डिजिटल संसारको एउटा टाउन स्क्वायर हो जहाँ मानवताको भविष्यका लागि महत्वपूर्ण कुराहरु बहस गरिन्छ । म पनि नयाँ सुविधासहित ट्वीटरलाई पहिलेको भन्दा उत्कृष्ट बनाउन चाहन्छु । मानिसहरुलाई यो प्लेटफर्मप्रति विश्वास बढाउनका लागि एल्गोरिदमलाई ओपन–सोर्स बनाउनु, स्प्याम बट्सलाई हटाउनु र सबैको पहिचानलाई प्रमाणित गर्नु यसमा समावेश हुनेछ ।’
यस सम्झौतासँगै अब ट्वीटर मस्कको स्वामित्वमा रहेको नीजि कम्पनी हुनेछ । ट्वीटरले दिएको जानकारी अनुसार कम्पनीको मूल्य ५४.२० डलर प्रति सेयरको हिसाबले लगाइएको छ जुन कुल ४४ अर्ब डलर हुनेछ ।
ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले भनेका छन्, ‘ट्वीटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन मस्कको प्रस्ताव गम्भीरतापूर्वक आँकलन गर्यो ।
सम्झौतापछि ट्वीटरको सबै सेयर होल्डर्सलाई क्यासमा आकर्षक प्रिमियम प्राप्त हुने छ जसबाट सेयरधनीलाई फाइदा हुने छ । हामीलाई लाग्छ ट्वीटरको सेयर होल्डरका लागि यो राम्रो अवसर हो ।’
ट्वीटरका सीईओ पराग अग्रवालले ट्वीटरको एक उद्देश्य प्रासंगिकता भएको र यसले दुनियालाई प्रभावित पार्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, हामीलाई हाम्रो टिममा गर्व छ ।’
ट्वीटरले जब अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्लेटफर्मबाट प्रतिबन्ध गरेको थियो, त्यति नै बेला मस्क, जो आफूलाई वाक स्वतन्त्रताका पक्षधर बताउँछन्, ले उनी यो मञ्चलाई सुधार्न चाहेको बताएका थिए ।
फोब्र्स पत्रिकाका अनुसार एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति २७३।६ बिलियन डलर छ ।