कैलाली : सुदूरपश्चिम प्रदेश सभाकाको माओवादी केन्द्र संसदीय दलका बहुमत प्रदेश सभा सदस्यहरूले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, प्रमुख सचेतक मानबहादुर धामी, राज्यमन्त्री गीता मालसहितका सात जना प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीलाई भेटेर सुदूरपश्चिम सरकार हेरफेर गर्न आग्रह गरेका हुन्।
टोलीमा सहभागी अन्य माओवादीका सांसद अक्कल रावल, ओम विक्रम भाट सरल,शिवसिंह ओली र लक्ष्मी विक सहितले सुदूरपश्चिम सरकारको काम प्रभावकारी नभएको गुनासो गर्दै तत्काल दुई मन्त्रीलाई फिर्ता बोलाउनु पर्ने माग गरेका छन्।
राम्रो काम गर्न नसकेको भन्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्रीमा झपट साउदलाई फिर्ता बोलाउन उनीहरूले आग्रह गरेका हुन्।
बहुमत प्रदेश सभा सदस्यहरूको गुनासो सुनिसकेपछि राष्ट्रिय सभा निर्वाचन लगत्तै प्रधानमन्त्रीले सरकार हेरफेरको सङ्केत दिएको टोलीमा सहभागी एक सांसदले बताए।
सुदूरपश्चिम प्रदेश सभामा माओवादीका सभामुखसहित ११ सांसद छन्। जसमध्ये ७ जना प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका थिए।