कालीकोट– चुनावमा सहभागिता नजनाउने र बहिष्कार पनि नगर्ने निर्णय गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कालीकोटका नौवटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ ।
विप्लवका केन्द्रीय सदस्यदेखि पूर्वसंविधानसभा सदस्यहरूसमेत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
कालीकोटको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम बिसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन् । बिसी सो पार्टीका केन्द्रीय सदस्य हुन् भने विक सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माकी भाइबुहारी हुन् ।
रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्याय २०६४ सालको संविधानसभा सदस्य हुन् ।
खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त विक, तिलागुफा नगरपालिकामा रमेश चदारा प्रमुखमा र उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
पचालझरना गाउँपालिका अध्यक्षमा नेकपा जिल्ला सचिव मनिलाल ऐडी, विनीत सिंह तिरुवाले उपाध्यक्षमा, पलाता गाउँपालिकामा पदम विक अध्यक्ष, महावै गाउँपालिकामा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकामा मनिश विक र सान्नी त्रिवेणी गाउँपालिमामा रुपसिंह बोहोराले उम्मेदवारी दिएका छन् ।
चुनावलाई उपयाेग गरेर जाने नीतिअनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिव मनिलाल ऐडीले बताए । कालीकोट प्रवक्ता खड्कबहादुर विश्वकर्माको गृहजिल्ला हो ।
चुनावको पक्षमा नरहेको नेकपाकै अर्को समूहले भने उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । नेता धर्मेन्द्रल बास्तोला ‘कञ्चन’ले एक विज्ञप्ति जारी गर्दै एमसीसी विरोधीलाई सर्मथन गर्ने, पार्टीका सदस्यहरू स्वतन्त्ररुपमा उठ्न सक्ने पार्टीको नीति भएको भन्दै नेतृत्व तहमै भएकाले उम्मेदवारी दिनु गलत भएकोले फिर्ता लिन भनेका छन् ।