काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो ।
कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ ।
यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
लुम्बिनीमा विष्णु देवी सापकोटाले टिकट पाएकी छन् । गुल्मीकी संस्थापन इतर नेता सापकोटाले महिला कोटाबाट टिकट पाएकी हुन् ।
कर्णालीमा प्रदेश महामन्त्री कृष्ण रोकायाले टिकट पाएका छन् । सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् ।
भट्ट कैलालीका पार्टी सभापति र अपाङ्ग हुन् भने बलदेव बोहरा कञ्चनपुरका पूर्व सभापति हुन् ।
१० जना मध्ये गण्डकीमा दुई जना र लुम्बिनीमा एक जना गरी तीन जना उम्मेदवार मात्रै शेखर कोइराला र गगन थापा पक्षले पाएको छ ।
४ जना दाबी गरेकामा तीन जना मात्रै पाएपछि उम्मेदवारी चयनको निर्णय न्यायसंगत र समावेशी हुन नसकेको भन्दै महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन् ।