धनगढी: अस्ति शनिबार सुदूरपश्चिम प्रदेश सरकारका सभामुख भीम भण्डारीसहित ७ जना नेकपा माओवादी केन्द्रका सांसद प्रधानमन्त्री कार्यालय छिरे। उनीहरुले त्यहाँ आफ्ना पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे।
सभामुखसहितको टोलीले अचानक प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई भेटेपछि तरंग नै पैदा भयो। सुदूरपश्चिम माओवादीभित्र अनेकन चर्चा र बहस छेडिएको छ।
उसो त भेटमा पनि माओवादी सुदूरपश्चिमभित्रको विवाद छताछुल्ल भएको नै बताइन्छ। स्रोतका अनुसार भेटमा सभामुखले नै सरकारको खेदो खनेका थिए भने सरकारले प्रदेश सभालाई बिजनेस दिन नसकेको पीएमलाई जानकारी गराएका थिए।
रोचक कुरा त के थियो भने, त्यहीँ टोलीमा गएकी एक महिला मन्त्रीले भने आफ्नै सरकारका मन्त्री बदल्न भनेको बुझिएको छ। उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीता देवी मालले यस्तो प्रस्ताव राखेकी हुन्।
राज्यमन्त्री मालले प्रचण्डसहितका ठूला नेतालाई सुदूरपश्चिममा माओवादीका अहिलेका मन्त्रीहरूलाई फिर्ता बोलाउन दबाब दिएको स्रोतले पुष्टि गरेको छ। यसरी सभामुख र राज्यमन्त्रीले नै सरकारको विपक्षमा शीर्ष नेताहरूलाई बिफ्रिङ गरेपछि माओवादीभित्र खैलाबैला मच्चिएको हो।
आन्तरिक टुटफुटका कारण मतभेद देखिएको र यसले सुदूरपश्चिम माओवादी नै सकसमा परेको कार्यकर्ताहरुको जिकिर छ।
अहिले सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीको तर्फबाट २ मन्त्री र १ जना राज्यमन्त्री छन्। उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा रमेश धामी र सामाजिक विकासमन्त्रीमा झपट साउद छन्। राज्यमन्त्रीमा गीता माल नै छिन्।
शनिबार दुई मन्त्री र २ सांसदबाहेक सबैले प्रधानमन्त्री प्रचण्डलाई भेटेर माओवादीले सरकारको विषयमा पुनर्विचार गर्नुपर्ने बताएका थिए। उनीहरूले अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, सचिव डिलाराम आचार्यलगायतलाई भेटेर मन्त्री फेर्न दबाब दिएका थिए।