डडेल्धुरा : इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहल गरिरहेको बताउने परराष्ट्र मन्त्री एनपी साउदले पुनः एकपटक त्यहि आश्वासन दिएका छन् ।
शुक्रबार डडेलधुरामा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले जोशीको उद्धारका लागि सरकारले पहल गरिरहेको बताएका हुन्। ‘विपिन जोशीसमेत १३२ जना अहिले पनि हमासको नियन्त्रणमा छन् । उनीहरू विभिन्न देशका छन् । हामीले उनको रिहाईका लागि इमान्दार प्रयास गरिरहेका छौँ । युद्धबन्दीकोरुपमा विपिन जोशीको जीवन सुरक्षित छ । हामीले निरन्तर प्रयास गरिरहेका छौँ,’ उनले भने ।
उनले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारेका छन् । उनले विद्यार्थी भिसा र भिजिट भिसा लगायतमा रुस पुगेकाहरूले त्यहाँको सेनामा भर्ती भएको र जोखिममा परेको बताए ।
‘आठ वटा शवहरू अहिले त्यहाँको शव गृहमा राखिएको कुरा मसँग आएको छ । हामीले ती शव नेपाल ल्याउनका लागि कूटनीतिक पहल गरिरहेका छौँ,’ उनले भने, ‘त्यसबाहेक १३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्यहरु त्यहाँ पुगेको र जोखिममा परेको भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।’