धनगढी : धनगढी जेसिजको ४१ औं पदस्थापना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार धनगढीस्थित सौराइ ब्यांक्वेटमा सम्पन्न कार्यक्रममा गत २३ मंसिरको साधारण सभाबाट निर्वाचित अरुण सिंहको टिमको पदस्थापना र सम्मान वितरण समारोहलाई प्रमुख अतिथि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का संघीय सांसद डिल्लीराज पन्त र विशिष्ट अतिथि नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष राजन पौडेलले सम्बोधन गरेका थिए।
प्रमुख अतिथि पन्तले ४१ वर्षको जेसिजको अध्यक्षमा निर्वाचित सिंहलाई बधाई तथा शुभकामना दिँदै हरेक तहमा युवा महिलाहरू नेतृत्वको रूपमा स्थापित गरेर जानुपर्नेमा जोड दिए। साथै विशिष्ट अतिथि नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष पौडेलले आफ्नो स्थापना कालदेखि नै जेसिजले युवाको व्यक्तित्व र नेतृत्व विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएकामा खुशी व्यक्त गरे।
धनगढी जेसिजको ४१ औं साधारणसभाबाट अध्यक्षमा अरुण सिंह निर्वाचित भएका थिए। यस्तै, कार्यकारिणी उपाध्यक्षमा तर्कराज भट्ट र आशिष शाह निर्वाचित हुँदा कानूनी सल्लाहकारमा चन्द्रकान्त पनेरू, महासचिवमा हरि जोशी र कोषाध्यक्षमा गिरिराज भण्डारी वर्ष २०२४ का लागि मनोनीत भएका थिए।
यसैगरी, चारजना उपाध्यक्षमा टेकराज अवस्थी, लक्ष्मण फुर्सेला, जनक बोहरा र देवराज अवस्थी निर्वाचित भएका थिए।
कार्यक्रममा १०३ पटक रक्तदान गरिसकेका पत्रकार दीपक नेपाललाई ‘लोकेन्द्र-मोहन युवा वर्ष सम्मान २०२३’ प्रदान गरिएको छ।
धनगढी जेसिजद्वारा स्थापित उक्त सम्मान समारोहमा प्रमुख अतिथि र पुरस्कार स्थापना गरेका पूर्व अध्यक्ष नरनारायण शाहले नेपाललाई प्रदान गरेका हुन्। निरन्तर रक्तदान गरी मानवीय सेवाका निमित्त अतुलनीय योगदान दिएका कारण उनलाई सम्मान प्रदान गरिएको धनगढी जेसिजले जनाएको छ।