धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी थालेको छ। सरकारले सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ।
सामाजिक विकास मन्त्रालयले शिक्षासम्बन्धी विज्ञ, राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवालासँगको सङ्गोष्ठीको आयोजना गरेर यस सम्बन्धमा राय, सल्लाह सुझाव लिएको छ।
सो गोष्ठीका अध्यक्ष सामाजिक विकासमन्त्री साउदले सरकारले आफ्नै लगानीमा प्राविधिक धारको विश्वविद्यालय स्थापना गर्न लागेको जानकारी दिए।
गोष्ठीमा प्राविधिक विश्वविद्यालय स्थापनासम्बन्धी कार्य गर्न गठित समितिका संयोजक डा. लवदेव अवस्थी, सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति प्राडा अम्मरराज जोशी र पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वविद्यालयबारे विविध स्तुतीकरण गरेका छन्।
कार्यक्रममा सहभागीहरूले प्रदेशमा छुट्टै आफ्नै प्राविधिक विश्वविद्यालय स्थापना गर्ने सरकारको धारणाको स्वागत गर्दै नाम मात्रैका लागि स्थापना नहुने गरेर यत्ति ठुलो काममा जिम्मेवार बनेर उभिन पनि सुझाव दिए।
प्रदेश सरकारको यस्तो साहसिक कार्यमा तीन तहकै सरकार, निजी क्षेत्रसँगै समाजमा रहेका हरेक नागरिकको आवश्यक सहयोग रहने मोडल अनुसार भए दिगो रहने उनीहरूको सुझाव थियो।
तीन सदस्यीय कार्यदल गठन
सरकारले प्राविधिक विश्वविद्यालय स्थापनासम्बन्धी मस्यौदा निर्माणमा सल्लाह सुझाव प्रदान गर्न, विश्वविद्यालयको स्थान यकिन तथा जग्गा प्राप्तिसम्बन्धी कार्यमा मन्त्रालयलाई राय सुझाव दिन र विश्वविद्यालय स्थापना तथा सञ्चालनका लागि आवश्यकपर्ने अन्य व्यवस्थापकीय कार्यमा मन्त्रालयलाई सहयोग गर्ने सेवासुविधा पाउने गरी डा. लवदेव अवस्थी संयोजक रहने गरेर तीन सदस्यीय कार्यदल गठन गरेको छ।
सो कार्यदलको सदस्यमा संविधान सभा सदस्य एवं अधिवक्ता हरिराम श्रीपाइली र सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंह रहेका छन्।