काठमाडौं : राजतन्त्रको आलोचना गरेको आरोपमा थाइल्यान्डमा एकजना युवालाई ५० वर्षको जेल सजाय सुनाइएको छ।
उत्तरी सहर चियाङ रायको पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई सामाजिक सञ्जालमा राजतन्त्रको आलोचना गरेको आरोपमा अहिलेसम्मकै सबैभन्दा लामो ५० वर्षको जेल सजाय सुनाएको हो।
उनलाई शुरुमा तल्लो आपराधिक अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो तर पुनरावेदनका क्रममा अन्य ११ मुद्दामा दोषी पाइएपछि लामो सजाय सुनाइएको बीबीसीले जनाएको छ।
उनले विभिन्न राजनीतिक मुद्दाहरू लिएर यसअघि पनि प्रदर्शन गर्दै आएका थिए। थाइल्याण्डमा राजा महा बजिरालोङकोर्न र उनका परिवारको आलोचना गर्नेविरुद्ध ‘लेज–म्याजेस्टे’ कानुन लागू गरिएको छ।
सन् २०२० र सन् २०२१ मा युवाहरूको नेतृत्वमा भएको प्रदर्शनमा हजारौँ मानिस सडकमा उत्रिएका थिए । प्रदर्शनमा कठोर ‘लेज–म्याजेस्टे’ कानुनमा परिवर्तनको माग गरिएको थियो।