काठमाडौं : यौनजन्य कसुरको बात लागेका कर्णेल निश्चयजंग रायमाझीले उन्मुक्ति पाएका छन्।
स्थपति विभागमा कार्यरत सेनाकी आर्किटेक्ट इञ्जिनियरसँगको आपत्तिजनक सम्बन्धलाई लिएर ती महिलाका पतिले दिएको उजुरीका आधारमा जंगी अड्डाले ब्रिगेडियर जर्नेल रविन्द्र केसीको नेतृत्वमा छानवीन अगाडि बढाएको थियो। उक्त उजुरीमा पत्नीमाथि यौनजन्य हिंसा भएको दावी गर्दै कर्णेल रायमाझीलाई सैनिक ऐनअनुसार हदैसम्मको कारवाही गरियोस् भन्ने माग गरिएको थियो।
सोही उजुरीका आधारमा रायमाझीले १० दिन सैनिक हिरासतमा बिताए। तर, महिलाका पतिले त्यस्तो उजुरी आफूले नदिएको, आफ्नो नाममा अरु कसैले झुटो उजुरी दिएर दुःख दिन खोजेको भन्दै होस्टाइल बने। उनले आफ्नी श्रीमती त्यस्तो चरित्रको हुँदै नभएको भनेपछि जंगी अड्डा थप छानवीन कार्यबाट पछाडि हटेको हो।
पतिले नै कसुर दावी गर्दै उजुरी दिई, छानवीनका क्रममा १० दिनसम्म हिरासतमा राखिसकेपछि नाटकीय तवरले कर्णेल रायमाझीले उन्मुक्ति पाएका छन्।