धनगढी : कुटपिटमा संलग्न रहेको भन्दै एक जना सेनाका मेजर कारबाहीमा परेका छन्। कालीध्वज गणमा कार्यरत रोशन लामिछाने कारबाहीमा परेका हुन्। उनको पद घटुवा गरी क्याप्टेन कायम गरिएको छ।
ब्याच नम्बर ४७१४ भएका उनले बिना अनुमति ब्यारेकबाहिर निस्किएर गैरसैनिक व्यक्तिहरूलाई हात हालेका थिए। श्री आपूर्ति तथा परिवहन निर्देशनालयका निर्देशक, सहायक रथी प्रेमबहादुर पुनको अध्यक्षतामा छानबिन गर्न गठित समरी जनरल सैनिक अदालतको सिफारिशअनुसार उक्त कारबाही भएको हो।
आफ्नो काम इमान्दारिताका साथ नगर्ने प्राविधिकतर्फका लेफ्टिनेन्ट कर्णेल पनि दण्डित भएका छन्। फिल्ड निरीक्षण नगरिकन प्राप्त सुझावको आधारमा रिटेनिङ वाल थप गरी पठाउने प्राविधिक प्रमुख सेनानी लक्ष्मणप्रसाद शाहलाई सैनिक अदालतले नसिहत दिएको छ।
पूर्वी पृतना स्थपति सेवामा कार्यरत उनले ड्रइङ्ग तथा नक्साको अध्ययन गर्दा एउटै प्रकृतिको सामानको दररेट फरक परेको थियो। आफ्नो गल्ती–कमजोरी ढाकछोप गर्न मातहतलाई दोषी देखाएका उनलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा गठित अदालतले नसिहत दिने फैसला गरेको हो।
उता अधुरो काम गर्ने सैनिक इञ्जिनियरिङ विभागका प्राविधिक सेनानी नितेश अमात्यको बढुवा रोक्का भएको छ। ब्याच नम्बर ४५८६ भएका उनले नयाँ निर्माण हुने भवनहरूको लागत अनुमान र (बिओक्यु) अपुरो तयार गरी पृतना स्थपति सेवामा पठाएका थिए। उक्त हर्कतका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेन।
यसबीच तीन वर्षका लागि उनको बढुवा रोक्का गर्ने फैसला भएको छ। प्राविधिक सेनानी कृष्णदेव यादवको पनि दुई वर्षका लागि बढुवा रोक्का गरिएको छ। कामभन्दा बढी रकम भुक्तानी गर्ने उनलाई बढुवा रोकेर सजायँ दिइएको हो।
उता डिजाइन र (बिओक्यु)मा फरक भएको थाहा हुँदाहुँदै निर्माण कार्य अघि बढाउने प्राविधिक सेनानी लीलाराम सापकोटासमेत दण्डित भएका छन्। निर्माण सम्पन्न गर्नमा चासो नदेखाउने अर्का प्राविधिक सेनानीलाई पनि कारबाही गरिएको छ। शाखापतिको हैसियतले आवश्यक व्यवस्था मिलाउन पहल गर्नुपर्नेमा गैरजिम्मेवारपूर्ण जवाफ दिएर पन्छिन खोज्ने प्रा.सेनानी राजीवमोहन झाले नसिहत पाएका छन्। ब्याच नम्बर ६७४४ भएका उनको दुई वर्षका लागि बढुवा रोकिएको छ।