धनगढी: सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा जनप्रतिनिधिबीच रोइलो भैरहेको विषय सतहमा आएको छ। हिजोआज उपमहानगरका प्रमुख (मेयर) गोपाल हमाल (गोपी) र वडाअध्यक्षबीचको विवाद सतहमा आइरहेको हो।
स्वतन्त्र उम्मेदवार बनेर जितेका हमालले आफूलाई पार्टीका निर्वाचित जनप्रतिनिधिले असहयोग गरेर राजीनामा दिनसम्मै बाध्य पारेको कुरा सार्वजनिक गरेका छन् भने कार्यपालिका सदस्यहरुले मेयर अहंकारी र निरङ्कुश भएको आरोप लगाएका छन्।
वडाअध्यक्षहरुले धनगढीमा जग्गा सम्बन्धी बनेको कार्यविधिको सवालबाटै विवाद सुरु गरिएको जनाएका छन्। यस्तै उनीहरुले सर्वोच्चमा रिटसमेत परेको सो कार्यविधिकै कारण विवाद भएर अहिलेसम्म मेयरकै कारण धनगढीको नगर सभा सुरु नभएको दाबी गरे। यस्तै कार्यपालिका बैठक पनि नबसाइएको उनीहरुको जिकिर छ भने मेयरले एकलौटी गरेको काँग्रेसका वडाध्यक्षहरुको बुझाइ छ।
उता मेयर हमालले आफूलाई सत्ता गठबन्धनले राजीनामा दिन बाध्य पार्न लागि परेको आरोप थुपारेका छन्। काँग्रेस र माओवादीका वडा अध्यक्षहरूले आफूलाई असहयोग गर्दै अन्त्यमा राजीनामा दिन बाध्य पार्ने योजना बनाएको उनको दाबी छ। मेयर हमालले सोही अनुरुप उनीहरुले आफ्ना कार्यक्रम बहिष्कार गर्ने गरेको जनाए।
एमालेबाट विजयी वडाध्यक्ष तथा कार्यापालिका सदस्यहरुले भने हमाल सहभागि कार्यक्रममा सहभागि हुने गरेका छन्। धनगढी उपमहानगरपालिकामा २९ सदस्यीय कार्यपालिका छ। जसमा मेयर हमाल स्वतन्त्र हुन् भने काँग्रेसबाट ११ वडाध्यक्षसहित १९ जना, एमालेका उपप्रमुख र ६ जना वडाध्यक्ष र माओवादी केन्द्रबाट २ जना वडाध्यक्ष रहेका छन्। जहाँ प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था छ।
धनगढीमा काँग्रेस र माओवादीको कार्यपालिकामा बहुमत रहेको छ।