काठमाडौं : सशस्त्र प्रहरी बलले ‘क्वीक इम्पेक्ट प्रोग्राम’ सञ्चालन गरेको छ। आफ्नो २३औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीले यो योजना ल्याएको हो।
यसअन्तर्गत सशस्त्र प्रहरी बलको नेपाल नम्बर–९ पशुपतिनाथ बाहिनीले संगठन र नागरिकबीचको सम्बन्धलाई विस्तार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रमअन्तर्गत बाहिनीले अशक्त दर्शनार्थीको सहजताका निम्ति पशुपति विकास कोषलाई ह्वील चियर हस्तान्तरणका साथै मन्दिरको सरसफाइ गरेको छ। बाहिनीका प्रमुख एवं डीआईजी पुरुषोत्तम थापाले कोषका सदस्यसचिव राजुकुमार क्षेत्रीलाई चारथान ह्वील चियर हस्तान्तरण गरेका हुन्।
यस्तै, सशस्त्र प्रहरी बल पशुपतिनाथ बाहिनीले तारकेश्वर नगरपालिका–५, गोलढुंगामा रुद्रमती किरियापुत्री धाम निर्माण गरेर धाम सञ्चालक समितिका अध्यक्ष नवराज चापागाईंलाई हस्तान्तरण गरेको छ।
यही माघ ९ गते सशस्त्र प्रहरीले २३औँ स्थापना दिवस मनाउँदै छ।