डडेल्धुरा : देशमा रोजगारीको व्यवस्था नहुँदा लाखौं युवाहरू विदेशीन बाध्य छन्, भने कतिपय स्वदेशमै रोजगारीको खोजीमा भौतारिएका पाइन्छन्।
कतिपय बेरोजगार युवाहरूको त चिया पसलमा जाने र दिनभर गफ चुट्ने गर्छन्। भने, कतिपय कुलतमा फसेको समेत पाइन्छ।
लाखौं युवाहरू रोजगारीको खोजीमा खाडीको चर्को घाममा पसिना बगाइरहेका छन्। तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का अन्तराम जोशी भने गाउँमै बसेर च्याउखेती गरि मनग्गे आमदानी गरेर उदाहरणीय बनेका छन्।उनले गन्यापधुरामै जोशी कृषि तथा पशुपंछी फर्म च्याउ उत्पादन केन्द्र सञ्चालन गरेका हुन्।
उसो त जोशी पनि विदेश नगएका होइनन्। उनी ४ वर्ष मलेसिया बसेर आएको बताउँछन्। मलेसियाबाट फर्केर युरोप जाने तयारी गर्न उनी काठमाडौं पसे। तर, उनले भिसा नै पाएनन्।
काठमाडौंमा रहँदा उनले विभिन्न च्याउ फर्ममा काम गरे। च्याउ खेतीको फर्ममा काम गरेपश्चात् उनलाई च्याउबाट मनग्ये आमदानी गर्न सकिने रहेछ भन्ने कुरा थाहा भयो।
त्यहीँ समयमा कोभिडको महामारी सुरु भयो। जोशी पनि घर फर्के। त्यसपछि उनलाई पनि आफ्नै ठाउँमा च्याउ खेती गर्ने रहर जाग्यो।
त्यसपछि उनी विदेश नगई च्याउखेतीमा लागे। अहिले उनी घर परिवारको खर्चको व्यवस्था गरेर मनग्य आम्दानी गरिरहेका बताउँछन्।
उनको फर्ममा कन्ये, गोब्रे र सिताके जातको च्याउ रहेका छन्। उनले वार्षिक सबै खर्च कटाएर अढाई/तीन लाख मुनाफा कमाइरहेको बताए। ‘६ वर्ष काठमाडौंमा च्याउ फर्ममै काम गरेको हुँ, कोरोनापश्चात् गाउँ आएर गाउँमै च्याउ खेती सुरु गरे। अहिले राम्रै भइरहेको छ,’ उनले भने।
बजारको अवस्था राम्रै भएको उनको भनाइ छ। उनी भन्छन्, ‘च्याउ उत्पादन बढेको छ। हिउँदे समयमा तराईमा बढी उत्पादन हुन्छ। र, हामी तराईमा बजार पाउँदैनाैं। पहाडी क्षेत्रमै कटाउनुपर्दा समस्या छ।’
१५० देखि २५० रुपैयाँ किलोसम्म च्याउ बिक्री गरिरहेको जोशी बताउँछन्। उनको फर्मको च्याउ डडेल्धुरा सदरमुकाम, दिपायल, बुडर अत्तरिया, बैतडी र दार्चुलासम्म पुग्ने गरेको छ।
विगत दुई वर्षदेखि कृषि ज्ञान केन्द्रले आफूलाई सहयोग गरिरहेको जाेशीको भनाइ छ। ‘गोब्रे च्याउ खेतीमा मलाई गत वर्ष पनि एकलाख १० हजारको सहयोग गरेको हो। कन्ये च्याउका लागि गाउँपालिकाले सुरुवातमा एकचोटी २० हजार जति विउ दिएको थियो,’ उनले भने।
अन्य समयमा घर परिवारको सदस्यबाटै सबैथोक काम गर्ने गरेको भएपनि च्याउ राख्ने समयमा ज्यालामा ४/५ जना राख्ने गरेको उनले बताए।
विदेशमा काम गर्दा साह्रै दु:ख हुने उनी बताउँछन्। विदेशमा १६/१७ घण्टा काम गर्नुपर्ने भएपनि यहाँ भने सहज भएको जोशीको अनुभव छ।