काठमाडौं : पछिल्लो समय प्रहरीका तल्लो तहका कर्मचारीले छोटो अवधिमै राजीनामा दिने प्रवृत्ति बढ्दै गएको छ। न्यून सेवा सुविधा र १८ घन्टासम्म डिउटी हुने भएकाले प्रहरीको जागिरमा आकर्षण घट्दै गएको हो।
न्यून सेवा सुविधाकै कारण नेपाल प्रहरीमा हरेक वर्ष करिब दुई हजारले राजीनामा दिने गरेका छन्। ती मध्ये कतिपय विदेश गएर उतै रोजगारी गर्दैछन् भने कतिले देशमै बसेर अन्य पेशा अंगालेका छन्।
यस्तै एक नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर)ले पनि पदबाट राजीनामा दिएर नेपाल टेलिकको जागिर गर्दैछन्। प्रबिण सुवेदीले इन्सपेक्टरबाट राजीनामा दिएका हुन् उनी टेलिकमको छैटौं तहमा नियुक्त भएका छन्।
सुवेदी पाँच वर्षअघि इन्सपेक्टरमा भर्ना भएका थिए। उनी पछिल्लो समय उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए। उनी सञ्चारतर्फका इन्सपेक्टर हुन्।
उनले पनि प्रहरीमा बढुवामा ढिलाई हुने र सेवा सुविधा कम हुने भएकाले राजीनामा दिएर टेलिकमको जागिर रोजेको बताइएको छ।