धनगढी : प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय छन्।
उनी प्राय जसो फेसबुकमा स्टाटस लेखिरहन्छन्।
उनी आफैंले लगभग २५ वर्ष विताएको प्रहरी सेवाको बारेमा पनि आलोचना गर्न पछि पदैनन्। उनले हिजो (शनिबार) पनि त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको कुटपिटको घटनालाई लिएर प्रहरीको आलोचना गरेका थिए।
आभूषणले ३ असार २०५६ बाट जनसेवा गर्ने उत्कृष्ट संस्थाको रुपमा दरिएको नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा नियुक्त भई कार्य सुरु गरेका थिए।
तर, एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै उनले लगभग २५ वर्ष पूरा हुन ४९ दिन बाँकी रहँदा १७ वैशाख २०८० मा राजनीमा दिएका थिए।
राजीनामा पश्चात् सामाजिक सञ्जालमा आफ्ना बिचार व्यक्त गरिरहने आभूषणले आन्दोलनकारीले ड्युटीमा रहँदा मुखमा थुकेको कुरा स्मरण गरेका छन्।
त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको कुटपिटको घटनालाई लिएर प्रहरीको आलोचना गरेका उनले ड्युटीमा खटिँदा प्रहरीले कति सहनशील हुनुपर्छ भन्ने जानकारी दिन उक्त कुरा स्मरण गरेका छन्।
आभूषणले लेखेका छन्, ‘प्रहरीले ड्युटिमा खटिँदा कति सहनशील हुनुपर्छ भन्ने कुरा बहुत महत्वपुर्ण हुन्छ। यस्तै एउटा घटना मेरो जीवनमा घटेको सुनाउँछु। दोस्रो जनआन्दोलनको समय थियो। हामी ड्युटीमा खटिएका थियौं। जताततै माहोल तातेको थियो। मेरो ड्युटी पर्यो काठमाडौ मोडल हस्पिटल भृकुटिमण्डपमा रहेका तीन वटा शव लिएर आउने। हामी हाम्रो कमाण्डर ठूले राइको नेतृत्वमा हस्पिटल गयौं। मलाई भित्र गएर शव ल्याउन भन्नु भएपछि म भित्र गए। त्यहाँ आन्दोलनकारीहरू थुप्रै थिए। तिनै आन्दोलनकारीहरू मध्ये थिए नारायण भारती र बुद्ध लामा। उनीहरुसँगै थुप्रै आन्दोलनकारीरू शव लिएर जान दिदैनौं भनेर हामीलाई काम गर्न दिएनन। मैले सम्झाउँदै थिए। अचानक नारायण भारतीले मलाई तँ साले ज्ञानेन्द्रको कुकुर भनेर भएभरिको खकार निकाले थुक्नुभयो। मेरो मुख, अनुहार अनि लुगा भरि उहाँले थुकेको कालो खकारै खकार परेको थियो। मलाई रिस उठ्नु स्वभाविक थियो। तर, मैले आफ्नो पकेटबाट रुमाल लिए, सरक्क मुख र अनुहारलाई पहिले पुछे अनि लुगामा लागेको खकारलाई पनि पुछे अनि भने चित्त बुझ्यो तपाईंको। मैले भने हेर्नुस् यो पद्धति (सक्रिय राजाको शासन पद्धति) मलाई पनि ठिक लाग्दैन, तर भावनात्मक रुपले म पनि तपाईंको साथमा छु। तर मैले ड्युटी गर्नुपर्छ र मैले गर्ने ड्युटी भनेको अहिलेको समयमा मलाई यी शवलाई व्यवस्थापन गर्न लगाइएको छ। त्यसैले म नआए अरु कोही आउँछन्। लिएरै जाने हो। तपाईंले मलाई थुकेको होइन शासन पद्धति र शासकलाई थुकेको हो। किनकी हरेक शासकको सुरक्षाको पहिलो पंक्तिमा प्रहरी नै हुन्छ र त्यो उसको कानुनी ड्युटी पनि हो। मन नलागि नलागि पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। त्यसैले तपाईंले आफ्नो बिरोध म मार्फत शासकीय पद्धतिलाई थुकेर जनाइसक्नु भयो। अब मलाई यी शवलाई लिएर जान दिनुस् भनेर सम्झाएपछी नारायण जी अति विनम्र भएर मलाई हत्तेरीका म पनि आवेशमा आएछु। लौ सर लैजानुस् भनेर भन्नुभयो र मैले तीनवटै शव लिएर टिचिङ पुर्याएको थिए। नारायण भारती जीसँग यो कुराको पुष्टि गर्दा पनि हुन्छ। यदी आवेशमा आएको भए त्यहाँ मैले पनि गोली चलाउनु पर्ने थियो। तर हामी प्रहरीले यस्ता साना तिना कुरामा आवेशमा आएर बल प्रयोग गर्नु हुदैन। त्यसैले हामीलाई तालिममा नै गुरुवाहरुले माया गर्दा पनि आमा चकारेर अनि गाली गर्दा पनि आमा चकारेर हामीलाई यी कुराहरु सामान्य हुन भन्ने सिकाएका हुन्। म जागिर छाडे पनि ती गुरुवाहरु जसले मलाई सहनशिल, धैर्यवान बनाए तिनलाई नमन गर्छु, जहिले पनि। यस्ता धेरै घटनाहरु छन् मैले काम गर्दा बेहोरेका र आवेशलाई नियन्त्रणमा लिएका। अध्यागमनमा यति धेरै ठूलो केही भएको थिएन कि आज देशकै इज्जत जानेगरी देशको अन्तराष्ट्रिय विमानस्थलमा खटेका सुरक्षाकर्मी जो अनुशासित, मर्यादित र मानवअधिकारको संरक्षण गर्न सक्षम छन् भन्ने दाबि गरिन्छ तिनले आफूभन्दा माथिल्लो ओहोदामा भएको अर्को अधिकृत स्तरको सरकारी कर्मचारीलाई धुरिएर कुटेको दृश्य भाइरल हुनेगरि आउँछ। जति सुकै भए पनि अध्यागमन अधिकृतलाई कुट्नु ठूलो गल्ती हो। यो घटनाले के देखाउँछ बाहिर जे जस्ता दाबि गरे पनि हाम्रो प्रहरी मानविय कुरामा, संवेदनहीन छ, मुलुकको एउटा विमानस्थलमा खटाउँदा सही जनशक्ति छनोट गर्न नसक्ने प्रहरी नेतृत्वले कसरी बाँकी रहेका सबै विमानस्थलहरुमा असल प्रहरी खटाउला। असल र खराब छनौट गर्न सक्ने काविलियत नै देखिएन प्रहरी प्रधान कार्यालय र यसको नेतृत्वको।’