काठमाडौं : दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा सुपर सिक्सका खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट औपचारिक रुपमा बाहिरिएको छ। सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो।
नेपालले सुपर सिक्सअन्तर्गत २ खेल खेल्ने तालिका छ। तर दुवै खेल जितेको खण्डमा पनि अंकविहीन नेपालको ४ अंक मात्र हुन्छ भने भारत र पाकिस्तानले ६/६ अंक जोडिसकेकाले नेपाल अब सुपर सिक्स खेलेर घर फर्कनुपर्ने भएको हो।
सुपरसिक्सको एउटा समूहबाट शीर्ष २ टोली मात्र सेमिफाइनलमा पुग्छन्। नेपाल रहेको समूह एबाट भारत र पाकिस्तान अघि बढ्ने सम्भावना बलियो छ। उनीहरूले तीन/तीन खेल जितेर ६/६ अंक बनाएका छन्।
बंगलादेशले २ खेलबाट २ र न्युजिल्यान्डले ३ खेलबाट २ अंक बनाएका छन् भने नेपालले २ र आयरल्यान्डले ३ खेल खेले पनि कुनै अंक जोडेका छैनन्।
भारतले सुपर सिक्सको खेलमा न्युजिल्यान्डलाई २ सय १४ रनले तथा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराएका थिए।