धनगढी: नेपालको गुप्तचर तथा जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागमा व्यापक हेरफेर गरिएको छ। केही दिन अगाडि सुदूरपश्चिमसहित सबै प्रदेशस्थित जिल्लामा कार्यरत विभागका हाकिमहरु लगायतहरुलाई सरुवा गरि यताउता पारिएको हो।
जसमा सुदूरपश्चिमका सबै जिल्लाका हाकिमहरु पनि परेका छन्। यसरी सरुवा हुनेमा सुदूरपश्चिमका केही एसपी र डिएसपीहरु रहेका छन्।
जसमा कैलालीका प्रमुख एसपी हरिश विष्टको रुपन्देही सरुवा भएकोमा उनको स्थानमा बाँकेबाट मोहन कुँवर आएका छन्।
यस्तै कञ्चनपुरका एसपी पवन जोशीको बर्दिया सरुवा भएकोमा उनको स्थानमा बर्दियाबाट नरेश बम आएका छन्। त्यस्तै विभागको प्रदेश कार्यालय सुदूरपश्चिममा काजमा कार्यरत डीएसपी दिलबहादुर चौधरीको प्रादेशिक कार्यालयबाट अछाम सरुवा भएको छ।
त्यस्तै सुदूरपश्चिमको पहाडका अन्य जिल्लाहरु बैतडीमा डीएसपी दिगम्बर गिरी आएका छन्। उनको विभागबाट बैतडी सरुवा भएको बताइन्छ। उता बाजुरामा डीएसपी प्रभाकर पन्त आएका छन्। उनी पनि विभागबाटै खटाइएका हुन्।
यता बझाङमा भने डीएसपी गोविन्द पाण्डे गएका छन्। उनी अछामबाट गएका हुन्। उता दार्चुलामा देवेन्द्र थापा गएका छन् भने यता डडेल्धुरामा दार्चुलाबाट डीएसपी भगेन्द्र चन्द सरुवा भई आएका छन्।
यस्तै डोटीमा भने डीएसपी महेश अवस्थी गएका छन्। उनी डडेल्धुराबाट सरुवा भई गएका हुन्।
यस्तै उता कर्णाली प्रदेशको पनि हेरफेर भएको बुझिएको छ। जसमा सबै जिल्ला कमाण्डर फेरिएका हुन्।
जसमा सुर्खेतका एसपी रमेशसिंह डाँगाको दाङ सरुवा भएको छ भने दाङका केशव न्यौपानेको विभागमा सरुवा भएको छ। यस्तै सो प्रदेशका एसपी गणेश आचार्यको धनुषा सरुवा भएको छ।
उच्च स्रोतकाअनुसार सुदूरपश्चिमबाहेक अन्यत्रका प्रायः सबै जिल्लामा प्रमुखहरु फेरिएका हुन्।
राष्ट्रिय अनुसन्धान विभागको केन्द्रीय कार्यालयका प्रशासन हेर्ने डिआइजी भीमबहादुर बुढाथोकीले हाकिमहरुको सरुवा भैसकेको जानकारी दिए। उनका अनुसार हाकिमबाहेकका तल्लो दर्जामा पनि व्यापक हेरफेर गरी यताका उता र उताका यता पारिएको छ।