डडेल्धुराः यहि माघ १० देखि १३ गतेसम्म डडेल्धुरामा सञ्चालन भएको जिल्लास्तरिय खुल्ला टि–२० रोशन मेमोरियल कप क्रिकेट प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरिएको छ । आयोजक किङ्गस् युथ क्लबल सबै खर्च विवरण जिल्ला क्रिकेट संघलाई बुझाउँदै सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको विवरण अनुसार विभिन्न सहयोगी दाताहरुबाट १ लाख २६ हजार ४०५ संकलन भएको छ । यस्तै टीम दर्ता शुल्कबाट ६३ हजार गरी कूल १ लाख ८९ हजार ४०५ संकलन भएको विवरणले देखाएको छ ।
प्रतियोगिता अवधिभर विभिन्न शिर्षकमा गरी कूल १ लाख ९१ हजार खर्च भएको छ । यसरी प्रतियोगिता सम्पन्न गरेर सम्भवत जिल्लामै पहिलोपटक क्लबले खर्च विवरण सार्वजनिक गरेर उदारहरणीय कार्य गरेको भन्दै खेलप्रेमीले प्रशंसा गरेका छन् । जिल्लामा बेलाबेला धेरै संघसंस्था तथा क्लबले विभिन्न प्रतियोगिता आयोजना गर्न सहयोग संकलन गर्ने तर अन्त्यमा खर्च विवरण नदेखाउने परिपाटी रहेको थियो ।
तर, आफूहरुले कूल आयव्यय सार्वजनिक गरेर खेल प्रतियोगितालाई पारदर्शी बनाएको आयोजक क्लबका शुनिल तामाङले बताएका छन् । यस्तो अभ्यासले सहयोगी दाताहरुलाई आफूले दिएको सहयोगको सहिसदुपयोग भयो भन्ने यकिन हुने उनले बताएका छन् । जिल्ला क्रिकेट संघपछि विगतबाट नै जिल्लामा क्रिकेट बचाउन लागिपरेका तामाङले पटकपटक विभिन्न प्रतियोगिता सञ्चालन गर्न रातदिन एक गर्छन् । ‘धेरैले सहयोग संकलन गरेर फाइदा उठाउँछन् भन्ने आरोप लगाउने गरेका छन । तर, प्रतियोगताबाट कुनै आर्थिक फाइदा हुँदैन । म त केवल जिल्लामा क्रिकेट बचाइराख्न प्रयास गरिरहेको छु’ उनले भने, ‘खेलकुद मैदान अभाव भएको जिल्लामा नवप्रवेशी खेलाडीलाई हौसला प्रदान गर्न तथा खेल्ने अवसर दिन बेलाबेला यस्ता प्रतियोगिता सञ्चालन हुनुपर्छ ।’
स्वर्गीय रोशन घिमिरेको स्मृतिमा आयोजना भएको रोशन मेमोरियल कपमा विष्ट ब्रदर्श क्लब विजयी भएको थियो । २०६८ पुस २ गते दार्चुलामा भएको बस दुर्घटनामा देहान्त भएका स्वर्गिय रोशनको स्मृतिमा धेरै पहिलेसम्म क्रिकेट प्रतियोगिता आयोजना हुने गरेको थियो । उक्त दुर्घटनामा उनीसहित आमाबुवा र भतिजाको पनि निधन भएको थियो ।
उनको सम्झनामा धेरै वर्षअघिसम्म विभिन्न प्रतियोगिता आयोजना हुने गरेका थिए । तर, पछिल्लो केही वर्षयता उक्त क्रम भंग भएको थियो । सोही कारण यो वर्ष किङ्गस् युथ क्लबकोतर्फबाट प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष गणेश देउवाले बताए ।