धनगढी : सुदूरपश्चिम प्रदेशभरी सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार धनगढी बसपार्कमा आयोजना गरेको कार्यक्रममा सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सडक दुर्घटना महामारी झै बढीरहेकाले यसलाई रोक्न सबै सरोकारवालाको हातेमालो आवश्यक रहेको जनाउँदै साझा कामका लागि कार्यदलको प्रस्ताव गरेपछि प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी नेत्रमणी गिरीको संयोजकत्वमा कार्यदल बनेको हो ।
सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान कार्यदलको सदस्यहरुमा सुन्दूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदमराज सापकोटा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश अध्यक्ष ललित चन्द, खप्तड यातायात प्रालीका अध्यक्ष अनन्तराज जोशी, कैलाली यातायात प्रालिका महासचिव तिर्थराज जोशी, नेपाल यातायात मजदुर संघ प्रदेश अध्यक्ष केशवराज पन्त र धनगढी उपमहानगरपालिकाको तर्फबाट सदस्य रहने गरी कार्यदल बनेको हो ।
कार्यदलले प्रदेश भरीका पालिका, चोक, सडकहरुमा सडक दुर्घटना न्युनिकरणका लागि जागरण अभियान सञ्चालन गर्ने संगठन प्रदेश अध्यक्ष ललित चन्दले जानकारी दिए ।
यातायात मजदुर, पैदलयात्रीहरु, सडक प्रयोगकर्ताहरु, विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई जिम्मेवार बनाउँन अभियान सञ्चालन गरिने चन्दले बताए ।
कार्यपत्र प्रस्तुत गर्दै संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले देशमा प्रत्येक दिन ७ देखि ८ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाइरहेको, वर्षमा सडक दुर्घटनामा परेर सरदर २ हजार ८ सय ८० जनाले ज्यान गुमाइरहेको र प्रत्येक वर्ष १४ हजार ४ सय व्यक्ति घाइते भइरहेको तथ्य पेश गरेका थिए ।
तीन करोड नेपाली सडक दुर्घटनाको जोखिममा रहेकाले सडक सुरक्षाका बारेमा सबै नागरिक, सबै संघसंस्थाहरु, तीनवटै तहका सरकारले गम्भिर हुनुपर्ने राईले बताए ।
धनगढी बसपार्कमा खुल्ला रुपमा सडक सचेतना सम्बन्धी कार्यक्रममा २ सयबढी चालक, सहचालक तथा परिचालकहरु सहभागी रहेका थिए ।