धनगढी : बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलाई रिहा गर्न आदेश दिने जिल्ला अदालत काठमाण्डौंका न्यायाधीश यज्ञप्रसाद आचार्य कारबाहीमा पर्ने भएका छन् । उनलाई न्याय परिषद्ले कारबाही गर्ने भएको हो ।
गत सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीशको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सिआइबीलाई आदेश दिएको थियो ।
उक्त आदेशअनुसार पक्राउ परेका चौधरीसहित तीनै जना बुधवार रिहा भएका थिए । व्यवसायी चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर रिहा भएका थिए ।
अनुसन्धान नसकिँदै रिहा गर्न आदेश दिएपछि न्यायालयमाथि चौतर्फी प्रश्न उठ्दै आएको छ । पैसा र पावरमा चौधरीलाई रिहा गरेको न्यायालयमाथि आरोप लाग्ने गरेको छ ।
न्यायाधीश आचार्यमाथि न्याय परिषद्मा उजुरी परेको छ । न्यायपरिषद्ले आचार्यलाई सात दिने स्पष्टिकरण सोधेको छ । न्यायपरिषद्ले कारबाही प्रक्रिया बढाउँदा स्पष्टिकरण सोध्ने गर्छ ।
उनै न्यायाधीशले यसअघि उमेर नपुगेकी युवती बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहलाई अर्कै मुद्दाको ब्याख्या गरेर प्रहरी हिरासतबाट रिहा गराउन मार्ग प्रशस्त गरेका थिए । उनको पछिल्लो आदेशबारे न्यायिक छलफल गरेर कारबाहीको सिफारिस हुनसक्ने अनुमान गरिएको छ ।