काठमाडौं : केही समय अगाडि सरुवा भई आएका डीआइजीमध्ये नेपालका २ प्रदेशका प्रहरी प्रमुख भने साहित्यिक विधामा पोख्त मानिएका छन्। नेपाल प्रहरीको कमान्डिङसँगै साहित्य क्षेत्रमा पनि उनीहरूको कुशलताका चर्चा गर्नेहरु थुप्रै छन्।
उनीहरू हुन्, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख डीआइजी रविन्द्र केसी र कोशी प्रदेशका प्रहरी प्रमुख डीआइजी चन्द्रकुबेर खापुङ। केसी काभ्रेका हुन् भने खापुङ तेह्रथुमका हुन्।
स्रोतका अनुसार डीआइजीद्वयको साहित्यिक कला र कौशलको प्रहरी संगठनभित्र पनि निकै चर्चा र प्रशंसा हुने गर्दछ।
जसको कारण हो, डीआईजी केसीको पुस्तक सम्बन्धको दोबाटो र खापुङका विभिन्न कविता तथा गीत संग्रहहरु।
डीआइजीद्वयको चर्चा प्रहरी प्रमुख भएर मात्र होइन कुशल साहित्यिक व्यक्तित्वका रुपमा पनि हुने गरेको बताइन्छ। अहिले केसीको उक्त पुस्तकले सुदूरपश्चिमसहित देशैभर चर्चा बटुलिरहेको छ।
केसीको २१ शीर्षकका कथा सङ्गृहीत ‘सम्बन्धको दोबाटो’को बिक्रि बढिरहेको पनि बताइन्छ। सुदूरपश्चिमस्थित धनगढीको इमेज बुक्स, महेन्द्रनगरको नेहा पुस्तक पसलसहित विभिन्न बुक्स हाउसका सञ्चालकहरुले सो पुस्तकको माग बढिरहेको बताएका छन्।
केही समय अगाडि लोकार्पण गरिएको उक्त कथा संग्रहमा समुन्द्ररूपी समाजमा भेटिने फरक प्रकृतिका मानिसहरूका फरक बानी, व्यवहार, सोच, बाध्यता, कुटिलता, मित्रता तथा बाँच्नका लागि गर्नुपर्ने अनेकौं संघर्ष पीडाका बीच मौलाएका फरकफरक सम्बन्धहरूको सूक्ष्म अध्ययन भेटिन्छ।
जसमा केसीले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा देश तथा विदेशका केही शहर घुमेसँगै नियालेका धेरैजसो सत्य र कतिपय काल्पनिक, बताउन सकिने, नसकिने, व्यक्त गरिएका, गर्न नसकिएका लुकाइएका कुराहरू समावेश गरेका छन्।
यस्तै त्यहाँ वृद्धवृद्धाका चाहना र पीडाका कथा, अल्लारे उमेरमा गरिने प्रेम र गल्तीका कथा, विवाहित र एउटै छानामुनि बसेर पनि भुसको आगोझैं भित्रभित्रै सल्किएर खोक्रो भइसकेका सम्बन्धका कथासमेत छन्।
समग्रमा सम्बन्धको दोबाटोले सम्बन्ध, प्रेम, संघर्ष, दुख, पीडा, विछोड लगायतका कुराहरु चित्रण गरेको छ। त्यसलैले पाठकको नजरमा कथाकार र कथावस्तु यथार्थपरम बन्दै गएको हो।
यस्तै उताका डीआइजी खापुङले पनि जीवनका यथार्थ कुरालाई साहित्यका माध्यमबाट पस्किने गरेका छन्। उनले आफूले कविताहरु लेख्ने तथा प्रकाशन गर्ने गरेको बताए। यतिमात्र होईन उनले गीतहरु समेत लेख्ने गरेको बताए। अनलाइन डिजिटल पत्रीकामा उनका गीत तथा कविता प्रकाशित भएपनी उनले पुस्तक भने प्रकाशन गरेका छैनन्।