काठमाडौं : कञ्चनपुरको महेन्द्रनगर बजारमा माघ १० गते एक महिला हवल्दारले बीच सडकमै पार्किङ गरिएको गाडी(स्कोरपियो) लाई नियन्त्रणमा लिन खोजेकी थिइन्। तर, उक्त स्कोरपियोका मालिक तेजबहादुर चन्दले ‘एसपी’(कञ्चनपुरका प्रहरी प्रमुख कमल थापा) को गाडी हो भन्दै धम्काएका थिए।
त्यति मात्रै होइन उनले महिला हवल्दारमाथि हातपात नै गरेको आरोप लागेको थियो। पछि त्यो बिएसी ६७२० नम्बरको स्कोरपियो रोकिएको प्रकरणमा प्रहरी अधिकृतहरुले आफूलाई हपारेको उनको गुनासो छ। १६ वर्षदेखि प्रहरीमा कार्यरत उनलाई केही समयअघि उत्कृष्ट प्रहरीको पुरस्कार दिएको थियो। तर, आफूमाथि अन्याय भएको बेला प्रहरी अधिकारीहरुले मुख मोडेको उनको गुनासो छ।
उल्टै ‘बाहिर भने’ कारबाही गर्ने चेतावनीसहित उनलाई स्पष्टीकरण सोधिएको थियो। आफ्नो कार्यकालमा पहिलोपटक कार्यालयबाटै अन्याय भएको भन्दै उनी विक्षिप्त छिन्। त्यसको एउटै कारण हो ‘तेजबहादुर चन्दको’ स्कोरपियो। एसपी थापाले भने त्यो एक महिना अगाडिको घटना भएको र त्यहीँ दिन रातिको समयमा हातपातको घटनामा चन्दलाई माफी मगाएर घर पठाइएको बताएका छन्। हातपातजस्तो विषयमा मिलापत्र गराएको विषयमा भने महिलाकै सहमतिमा सो कुरा गराइएको उनले बताएका थिए।
कञ्चनपुरमा महिला हवल्दारमाथि हातपात, इन्सपेक्टर बिनुले केरकार गर्दा एसपीको संरक्षण
चन्द विवादित छविका क्रसर व्यवसायी हुन्। उनी कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य वस्तुको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दाका मुख्य आरोपी हुन्। तर, अख्तियारकै आयुक्त जयबहादुर चन्दको सक्रियतामा उनका निकटस्थ रहेका तेजबहादुर चन्दलाई मुद्दा चलाइएको थिएन।
महेन्द्रनगरमा आफ्नै क्रसरसमेत रहेका चन्दले सेटिङ मिलाएर महाकाली नदीको रोयल्टी संकलनको ठेक्का हत्याएको आरोप लाग्ने गरेको छ। उनै तेजबहादुर चन्दसँग कञ्चनपुरका एसपी कमल थापाको हिमचिम बढी रहेको स्रोतको दाबी छ। माघ १० गते नियन्त्रणमा लिन खोजिएको उक्त स्कोरपियोमा एसपी चढ्ने गरेको स्रोत बताउँछ। सोही कारण आफ्नै कर्मचारीमाथि अभद्र व्यवहार हुँदा पनि एसपीले सो घटनामा मिलापत्र गराएको बताइन्छ।
चन्दले एसपी थापालाई आर्थिक सहयोगसम्म गर्ने गरेको तथा प्रहरी, अख्तियार र अदालतको निकट छु भन्दै दलाली गर्ने गरेको चर्चा कञ्चनपुरमा चल्ने गरेको छ। ती चन्दले प्रहरी, प्रशासन र अख्तियारमा विभिन्न अवैध सेटिङ मिलाउने गरेकाे बताइन्छ ।
केही समयअघि उनी एआइजी सन्दीप भण्डारी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआइजी भरतबहादुर बोहरासँग देखिएको तस्विर सार्वजनिक भएको थियो ।
यो पनि:
exclusive: भीमदत्तको भ्रष्टाचार मुद्दामा आयुक्त जयबहादुरका ‘आफन्त’ तेजबहादुरलाई उन्मुक्ति !
Exclusive: ‘भीमदत्त मुद्दा’मा अख्तियारको अर्को बदमासी, थप २ जनालाई उन्मुक्ति दिएको खुलासा
फ्लोअप: ‘भीमदत्त मुद्दा’मा तेजबहादुर जोगाउन आयुक्त जयबहादुर महेन्द्रनगरै पुगेको खुलासा
उत्कृष्ट पुलिस खोज्न आएको टोलीसँग विवादित चन्द कसरी भए प्रकट ?
महाकाली खन्न सेटिङै सेटिङ, अख्तियार मिलाउन ‘रेटिङ’ !
महाकालीमा माफियाकै कब्जा, सेटिङमा ठेक्का !