धनगढी: कञ्चनपुर बस्दा विवादित छवि बनाएका एसपी कमल थापा जिल्लामा आउने बेलादेखि जाने बेलासम्म विवादितै भए। थापा आएपछि तस्करी मौलाएको, स्पाहरुबाट रकम उठाएको, ठेकेदारसँग साँठगाँठ गरेकोदेखि पत्रकार धरपकड र प्रतिशोधपूर्ण रुपमा थुन्नेसम्मको आरोप लाग्यो। आएपछि पत्रकारलाई झण्डै थुनेर सुरु भएको थापाको कार्यकाल अहिले भने समाप्त भएको छ।
एसपी थापाको स्थानमा अहिले प्रहरी प्रधान कार्यालयद्वारा नयाँ एसपी चक्रराज जोशी खटाइएका छन्। सरुवा हुनुभन्दा अगाडि भने एसपी थापाले मुद्दा शाखाकी इन्सपेक्टर बिनुकुमारी शाही र आफूलाई जोडेर फेसबुकमा पोष्ट र कमेन्ट लेख्नेहरुलाई मुद्दा नै चलाएका थिए।
त्यसमा २ जना पत्रकारसहित पूर्व प्रहरी र नेतासम्मलाई थुनामा राखियो। तर अस्ति (बुधबार) भने सबैजना थुनामुक्त भैसकेका छन्। नाम परिवर्तन गरेर इन्सपेक्टरले जाहेरी दिएकोमा अदालतबाट पक्राउ पुर्जी जारी गरी पत्रकारद्वय (माउन्टेन टेलिभिजनमा कार्यरत) पुष्कर भट्ट र (आभाष कुञ्ज दैनिक)मा कार्यरत ऐश्वर्या कुँवरलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो।
त्यसपछि त्यसको भोलिपल्ट नै पत्रकारद्वयलाई अदालतमा उपस्थित गराइ विद्युतीय अपराधसम्बन्धी मुद्दामा ७ दिन म्याद थप गराइएको थियो। त्यस दिन पत्रकारद्वयका अधिवक्ता बिनोद भट्टले बहससमेत गरेका थिए। त्यसपछि सामाजिक सञ्जालमा जथाभावी लेखेर चरित्रहत्या गरेको भन्दै थप ४ जना समातिएका थिए।
यसरी मङ्गलबार र बुधबार गरी नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसमेत रहेका भीमदत्त नगरपालिका–१८ का चन्द्रकान्त भट्ट (सिके), अर्का स्थानीय पुस्कर भट्ट, पूर्वप्रहरी हवल्दार भीमदत्त नगरपालिका–१८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका–१६ का दशरथ धानुक थिए।
तर, हाई लेभलबाट थेग्न नसकिने प्रेसर आएपछि थापा निरीह भएर ती ४ जनालाई बुधबार बेलुका नै छोडेका थिए। त्यस अगाडि एसपी थापाले नेता भट्टको सरकारी वकिलमार्फत बयान प्रमाणीत गराउन खोजेका थिए। तर, सरकारी वकिल शान्तिराज शर्माले आफ्नो क्षेत्राधिकार नभएको र म्याद थप नभएका व्यक्तिको बयान प्रमाणीत नहुने भन्दै थापालाई सम्झाएका थिए। त्यसपछि स्रोतका अनुसार गृहमन्त्री लगायतको प्रेसरले माओवादी नेता भट्टसहितलाई २४ घण्टा नबित्दै थुनामुक्त गरिएको थियो। तर त्यसबेला सम्म पनि सोही मुद्दाका थुनुवा पत्रकारद्वयलाई भने छाडेको थिएन।
…अनि भयो फोन संवाद
त्यसपछि पत्रकारद्वयका अधिवक्ता बिनोद भट्ट र नेविसंघका सहमहामन्त्री एवं नेपाली काँग्रेसका भीमदत्त नगरका सभापति अच्युत कलौनीसहितको समूहले एसपी थापालाई राती ९ बजे फोनमार्फत संवाद गरेका थिए।
स्रोतका अनुसार त्यसपछि बुधबार राती अबेरसम्म एसपी थापा, इन्सपेक्टरसहितले अधिवक्ता समूहसँग छलफल गरेको थियो। प्रहरी स्रोतका अनुसार रातको ११ बजेसम्म छलफल भएको थियो। छलफलपछि पत्रकार पुस्कर भट्टलाई माफी मगाएर छोडिएको र ऐश्वर्याले भने माफी माग्न नमानेपछि अधिवक्ता भट्टको आग्रहमा पत्रकारद्वयलाई पनि राति थुनामुक्त गराएर घर फर्काइएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले अनुसन्धानका बखत हिरासतमा राखि राख्न उपयुक्त नदेखिएकाले जिम्मा जमानीमा उनीहरूलाई छोडिएको जानकारी दिएका थिए। दुवै जनालाई अनुसन्धानका क्रममा बोलाएका बेला हाजिर हुने गरी छोडिएको हो।
उनले भने, ‘उहाँहरुलाई अनुसन्धानका क्रममा बोलाएका बखत हाजिर हुने गरी अनुसन्धान अधिकृतले थुनामुक्त गर्नुभएको हो।’ यस्तै अन्यलाई पनि हाजिर जमानीमा छोडिएको प्रहरीले जनाएको छ। अधिवक्ता समूहसँगै पत्रकारलाई छुटाउन पत्रकारले भन्दा बढी पहल नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य ओमविक्रम भाट सरल, राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र चन्द लगायतले गरेको बताइन्छ।
तर पत्रकारका विभिन्न पेसागत संगठन र महासंघले पनि कञ्चनपुर प्रहरीको उक्त कदमको विरोध गर्दै प्रतिशोध साधेको जनाएका थिए। थुनामुक्त भएकाहरुको मुद्दा अदालतमा भने कायमै छ।
र, यो पनिः कञ्चनपुरको प्रहरी हिरासतमा रहेका २ पत्रकार मध्यरातमा रिहा
कञ्चनपुरमा ‘सानालाई ऐन ठूलालाई चैन’ : पत्रकार थुनामै, नेता र पूर्वप्रहरीसहित ४ जना रिहा
कञ्चनपुरका एसपी थापाः जहाँ गयो त्यहीँ ‘विवादित’ !
कञ्चनपुरका ‘विवादित’ एसपी थापाको सरुवा, जोशी आउँदै