डडेल्धुराः कञ्चनपुरमा प्रहरी संगठनभित्रको बेथितिबारे आवाज उठाएकै भरमा शनिबार दुई पत्रकार पक्राउ परे। सुरुमा प्रहरीले माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुष्कर भट्टलाई पक्राउ ग¥यो। पहिले प्रहरीले उनी पक्राउ पर्नुको कारण खुलाएन।
तर, केही समयपछि विद्युतीय कारोबार सम्बन्धी मुद्दा देखायो। त्यसको केही समयमै अर्की पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेको खबर आयो। आफ्नो फेसबुक पेज तथा म्यासेन्जर लगायत सामाजिक सञ्जालहरुमा व्यक्तिगत चरित्र हत्या गरेको भन्ने विद्युतीय कारोबार ऐन अन्र्तगतको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको थियो।
पत्रकार भट्ट र कुँवर कञ्चनपुरमा प्रहरी संगठनभित्रको बेथितिबारे आवाज उठाइरहेका थिए। तर, प्रहरी संगठनकै छवि धुमिल्याउने कर्मचारीको संरक्षण गरेर प्रहरी प्रशासन पत्रकारहरुसँग पैठेजोरी खेलिरहेको छ।
के हो घटना ?
करिब ६ महिनाअघि सुनको सिक्री हराएको प्रकरणमा मुछिएका प्रहरी जवान नरेन्द्र नाथले माघ १९ गते प्रहरी सेवाबाटै हात धोए।
जति ठूलो अरोप प्रहरी जवान नाथमाथि लागेको छ त्योभन्दा संगीन आरोप राजीनामा दिएपछि नाथले कञ्चनपुरकी प्रहरी निरीक्षक बिनु शाहीमाथि लगाए। नाथले बिनुको टर्चर सहन नसकेको भन्दै राजीनामा दिएको बयान दिएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत नाथ भिमदत्त–९ मटेनाका बासिन्दा हुन्। पारिवारिक समस्याका कारण बिदा थप्न उनी जिप्रका कञ्चनपुर पुग्छन्।
त्यहीबेला मुद्दा फाँटमा रहेकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुले आफ्नै संगठनका जवानलाई थुनुवा बनाइदिन्छिन्। कञ्चनपुर प्रहरीले भने आफूखुसी हिरासत कक्षमा गएर थुनुवालाई गुट्खा दिइरहेको पाइएकाले नाथलाई कारबाही गरिएको दाबी गर्छ।
नाथले भने सीसीटीभी फुटेजमार्फत आफूले सूर्तीजन्य पदार्थ दिएको प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताएका छन्। नाथ यसअघि पनि विवादमा तानिएका थिए। इलाका प्रहरी कार्यालय गड्डाचौकी अन्र्तगत नेपाल–भारत सीमामा रहेकाका नाथ जिप्रका तानिए।
त्यसपछि उनलाई बागफाँटा प्रहरी चौकीमा खटाइयो। त्यहा कार्यरत हुँदा उनले हराएको सिक्री सम्बन्धितलाई बुझाउनुपर्नेमा लुकाउने प्रयास गरेको आरोप लाग्यो। तर, नाथ भने यसको खण्डन गर्छन्।
प्रहरीसँग यो घटना भएको दिनको सीसीटीभी फुटेज पनि छैन। फुटेज देखाएर नाथ दोषी देखिए कारवाही गर्नुपर्ने प्रहरी समय आएपछि दिउँला मिडियामा दिने हो र ? भन्दै पन्छिएको छ। यसले प्रहरीले आफ्ना कर्तुत लुकाउन प्रमाण मेटेको आरोप लाग्न थालेको छ।
बिनु यसअघि पनि हिरासतको विषय जोडिएको घटनामा विवादित प्रहरी अधिकारी हुन्। पत्रकारलाई अनावश्यक धरपकड गरेको भन्दै उनले प्रहरी हेडक्वाटरको स्पष्टीकरण भेटिसकेकी छन्। त्यसबेला पनि घटना सामसुम पारिएको थियो।
त्यति मात्रै होइन्, भारतमा हुने आइपीएस (इन्डियन पुलिस सर्भिस) तालिममा जान नपाएको भन्दै बिनु निराश भएकी थिइन्।
उनले आफ्नै ब्याचका अर्का इन्सपेक्टर तालिममा जान छनोट भएको तर आफू नभएको भन्दै सिधै हेडक्वाटरमा गुनासो गर्दा हेडक्वाटरले उनलाई कारबाही गर्न भन्दै कञ्चनपुर प्रहरीलाई पत्र काटेको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले उक्त पत्र पनि थन्क्याएको स्रोतको दाबी छ।
प्रहरी जवानमाथिको यातना दिएको समाचार बाहिरिए लगत्तै कञ्चनपरमै कार्यरत एक प्रहरी सहायक हवल्दारले आफूमाथि व्यवसायी तेजबहादुर चन्दले हातपात गर्दा उल्टै एसपी थापाले चन्दलाई बचाएको आरोप लगाएकी थिइन्।
आफ्नै प्रहरी जवानलाई यातना दिने प्रहरीभित्रका यिनै बेथितीबारे निरन्तर समाचार प्रकाशन÷प्रसारण हुँदै आएका छन्। पत्रकारद्वय भट्ट र कुँवरले पनि प्रहरीविरुद्ध लेख्ने र सम्बन्धित सामग्री फेसबुकमार्फत सेयर गर्ने गरेका थिए।
पत्रकार भट्टले केही दिनअघि मात्रै प्रहरी प्रमुखलाई कमल थापा र प्रहरी निरीक्षक बिनु शाहीलाई बिनु थापा भनेर स्टाटस लेखेका थिए। केही समय पछि उनले शाही हुनुपर्नेमा थापा भएको भन्दै त्यसलाई सच्याए।
समाचार प्रकाशन पश्चात प्रहरी निरीक्षक बिनुले पनि भ्रामक समाचारमा रमाइलो मानेर गुणगान गाएकोमा रमाइलो लागेको तर आफूलाई बिना शाही लेखिएकोमा चाहिँ दुःख लागेको बताएकी थिइन्। समाचारका कारण बढेको तिक्तता यसै घटनाले व्यक्तिगत रिसीइबीमा परिणत गरायो।
भूलसुधार गरेको अवस्थामा पक्राउ गर्ने प्रहरीको नियत प्रतिशोधपूर्ण देखिन्छ। पत्रकार कुँवरको पनि पाँच दिन पहिले स्टाटस आयो। बिनुलाई एसपीले संरक्षण गरेकोतर्फ लक्षित गर्दै कुँवरको पहिलो स्टाटसमा लेखिएको थियो, ‘कञ्चनपुरमा लैला मज्नुको मिडियामार्फत धोती खुस्किने भएपछि लैला बचाउन मज्नुको रस्सीकस्सी।’
लगत्तै अर्को स्टाटसमा ‘म तिम्रो लागि कञ्चनपुरका सारा मिडिया, व्यापारी, अनि सारा कञ्चनपुरका जनतासँग लडाईँ लड्न तयार छु, मेरी प्रिय प्यारी रानी।’ ‘थुक्क लाज पचेका नकचरा’ भन्दै स्टाटस लेखिन्। जुन पत्रकारिताको न्यूनतम इथिक्सभित्र पर्दैन। पत्रकारिताको आडमा व्यक्तिगत रिसीइबी साधेपछि प्रहरीले पनि प्रतिशोध देखाएको बुझिन्छ।
कुँवर दोस्रोपटक पक्राउ
पत्रकार कुँवरलाई कञ्चनपुर प्रहरीले दास्रो पटक पक्राउ गरेको हो।
गत बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
कुवँरलाई त कुटपिट समेत गरिएको थियो। सो घटनापछि प्रहरीको व्यापक आलोचना हुनका साथै कारबाहीको माग गरिएको थियो। नेपाल पत्रकार महासंघ कञ्चनपुरले एसपी थापालाई सरुवा गर्न माग गर्दै नगरे उनको बहिस्कार गर्ने चेतावनी दिएको थियो।
घटनाको छानविन गरी प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी, सिताराम विष्ट, बिनुकुमारी शाही र प्रहरी सहायक निरीक्षक अम्मर कार्कीलाई विभागीय कारबाही गरिएको थियो।
एसपीको तस्करसँग कनेक्सन
कञ्चनपुरका प्रहरी प्रमुख थापा अवैध सामानको पैठारीमा सहयोग तथा घुमुुवा प्रहरीमार्फत केही व्यापारीबाट हप्ता उठाउने गरेको आरोप लाग्ने गरेको छ।
तर, उनी भने आफू आएपछि सबैभन्दा बढी गोदाममा छापा मारेर अवैध सामान बरामद गरेको दाबी गर्छन्।
यसअघि संखुवासभा, सुनसरी, कञ्चनपुर र सम्पत्ति शुद्धीकरणलगायत निकायमा काम गरिसकेका एसपी थापाको सरुवा सिमानाका र मालदार ठाउँमा मात्रै हुनुलाई पनि संयोग मात्रै मान्न सकिँदैन।
२०७७ कर्तिकमा सुनसरी प्रहरी प्रमुख हुँदा एसपी थापामाथि आर्थिक लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो। त्यसबेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी परेको थियो।
सुनसरीमा उनले आफू आईजीपी शैलेश थापाको विश्वासपात्र भएको भन्दै मातहतका केही घुमुवा र केही चौकीका इञ्चार्जमार्फत रकम असुली गर्ने गरेको स्रोतले बतायो।
स्रोतका अनुसार अख्तियारमा उजुरी र प्रदेश प्रहरीले छानबिन गरेसँगै एसपी थापाले आफूलाई राम्रो देखाउन केही पत्रकारलाई रात्रीभोज गराएर समाचार समेत लेखाएका थिए।
डीएसपी हुँदा पूर्वीपहाडी जिल्ला संखुवासभामा उनले करोडौं कमाएको प्रहरी अधिकारीहरू नै बताउँछन्। २०७७ पुसमा सीमा क्षेत्रमा हुने तस्करी र लागूऔषध कारोबारमा संलग्नसँग पैसा उठाएर थापालाई बुझाउने घुमुवाहरू कारवाहीमा परेका थिए।
आर्थिक लेनदेन गरेको आरोप खेपेका एसपी थापाका घुमुवा प्रहरी र केही चौकीका इञ्चार्जलाई प्रदेश प्रहरी कार्यालय विराटनगरले कारवाही गर्दै तानेको थियो।
सुनसरीमै भारतीय प्रहरीले ३० जेठ २०७८ मा तस्करी गरेर लगिएको तीन ट्रक चाइनिज स्याउ बरामद गरेपछि त्यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए।
प्रहरीले एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा छानविन टोली गठन गरेको हो भने सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय पकली सुनसरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा अर्को छानविन टोली गठन भएको थियो।
छानविनमा तत्कालिन सुनसरीका एसपी कमल थापा र सशस्त्र प्रहरीका तत्कालिन एसपी माधव पौडेलको समेत संलग्नता रहेको खुलेको थियो। तर, स्याउ तस्करी प्रकरणमा एसपीद्वय थापा र पौडेललाई भने उन्मुक्ति दिइएको थियो।
तत्कालिन प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले नै एसपी थापालाई जोगाएको स्रोतले बताएको छ। त्यसो त सशस्त्रका एसपी पौडेललाई पनि छानविन समितिका संयोजक एसएसपी प्रकाश थापालेनै जोगाएको बुझिएको छ।
छानबिन टोलीले अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की, अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान दोषी देखिएकाले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरेको थियो।
त्यस्तै सशस्त्र प्रहरीको छानविन टोलीले सशस्त्र प्रहरी बल बिओपी लाहीका ईञ्चार्ज इन्स्पेक्टर महेश कार्कीलाई पनि दोषी ठहर गर्दै कारबाहीको लागि सिफारिस गरेको थियो।
त्यो समयमा एसपीको रबैयाविरुद्द नेपाली काँग्रेसको सुनसरीले आपत्ती जनाउँदै सिडियोको ध्यानाकर्षण समेत गराएका थिए। उच्चपदस्त प्रहरीको संरक्षण पाएका थापालाई एमाले नेताको पनि साथ रहेको बताइन्छ। त्यसैले तल्लो दर्जाका प्रहरी कर्मचारीलाई कारबाही हुँदै आएपनि एसपी थापा भने बच्दै आएका छन्।
र यो पनि !
महिला हवल्दारलाई रुवाउने ‘स्कोरपियो’ चढ्थे एसपी थापा, ‘विवादित’ उद्योगी चन्दसँग साँठगाँठ !
एसपी थापाको एरियामा खुलेआम तस्करी, सेटिङ्मै मिटिङदेखि धम्कीसम्म
कञ्चनपुरमा महिला हवल्दारमाथि हातपात, इन्सपेक्टर बिनुले केरकार गर्दा एसपीको संरक्षण
सिनियरलाई ‘साइड’ लगाएर ‘फ्रेस’ बिनुलाई मुद्दाफाँटको जिम्मेवारी