काठमाडौं : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत इन्सपेक्टर बिनु शाहीको अत्याचारबाट एक महिलासहित २ प्रहरी पीडित बनेको खबर बाहिर आएसँगै उनैसँग सम्बन्धित नयाँनयाँ तथ्य सार्वजनिक भइरहेका छन्। कञ्चनपुरका एसपी कमल थापाको निकट मानिएकी बिनुलाई पहिलो पोष्टिङमै जटिल मानिने मुद्दा फाँटको जिम्मेवारी दिएको पाइएको छ।
यसबाटै प्रष्ट हुन्छ कञ्चनपुर प्रहरीमा बिनुको दबदबा कति छ भनेर। कार्यालयमा २०७० को ब्याचका इन्सपेक्टर पुष्कर पन्त छन् । तर, उनी बिदामा गएको मौका पाएर एसपी थापाले करिब २ महिनाअघि बिनुलाई मुद्दा फाँटको जिम्मेवारी दिएका थिए। यो विषयमा डीएसपी प्रकाश डाँगीसँग प्रतिक्रिया माग्दा उनले कार्यालय प्रमुखले गरेको निर्णय नै अन्तिम हुने बताएका छन्।
एसपी थापा र इन्सपेक्टर बिनुको यस्ता रवैयाले प्रहरी संगठनभित्रै असन्तुष्टि बढेको बताइन्छ। तर, भित्रका ‘काण्ड’ बाहिर ल्याउन खोज्दा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले समाचार लेख्नेलाई कारबाही गर्ने चेतावनी दिइसकेको छ। केही दिनयता महेन्द्रनगरपोष्टले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यरत ‘विवादित’ इन्सपेक्टर बिनु शाहीले गरेको ज्यादतिका बारेमा शृङ्खलावद्ध रुपमा फ्लोअप गरिरहेको छ।
उनै शाहीलाई जोगाउने उद्देश्यका साथ कञ्चनपुर प्रहरीले सोमबार विज्ञप्ति जारी गरेको हो। विज्ञप्तिको अन्तिम बुँदामा उक्त प्रकरणलाई लिएर कसैले समाचार तथा सामाजिक सञ्जालमा स्टाटस लेखेमा कानुन अनुसार सजाय गर्ने चेतावनी दिइएको छ। जबकी नेपालमा समाचार तथा सञ्चार माध्यमका मुद्दा प्रेस काउन्सिलले हेर्ने गर्छ। कसैले समाचारमा विमति जनाउन प्रेस काउन्सिमा उजुरी दिने व्यवस्था नेपालमा छ। तर, कञ्चनपुर प्रहरी भने इन्सपेक्टरलाई जोगाउने ध्येयका साथ आफै पत्रकारलाई कारबाही गर्ने चेतावनी दिइरहेको छ।
जिल्ला प्रहरीले पीडित भनिएका प्रहरी जवानसँग सोधपुछ गरि घटनाबारे अनुसन्धान गर्नुपर्नेमा बिनुको बचाउ गर्दै विज्ञप्ति नै जारी गरेको थियो। तर, त्यो विज्ञप्तिले कञ्चनपुर प्रहरीको फितलो सुरक्षा व्यवस्थापनबारे उजागर गरिदिएको छ।
इन्सपेक्टर बिनु शाहीबाट यातना भोगेका प्रहरी जवानले निवेदन दिइसकेका छन्। बाजुरामा कार्यरत रहेका प्रहरी जवान नरेन्द्र नाथले बिदामा महेन्द्रनगर आएको बेला शाहीबाट यातना खेप्नुपरेको र त्यसपछि राजीनामा दिन बाध्य बनाएको भन्दै खुलासा भएको थियो। आफूमाथि भएको ज्यादतीविरुद्ध प्रदेश प्रहरी कार्यालयमा पुग्दा समेत न्याय नपाएर राजीनामा दिएको बताउने उनले हिजो(मंगलबार) जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा इन्सपेक्टर शाहीविरुद्ध निवेदन दिएका हुन्।
नाथले निवेदनमा इन्सपेक्टर बिनु शाही तथा उनको निर्देशनमा आफूमाथि भएका ज्यादतीको शिलशिलाबारे खुलाएका छन्। पुस २२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बिदाबारे बुझ्न जाँदा आफूलाई घेरा हालेर गिरफ्तार गर्दै कुटपिट गरेको उनले प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएका छन्।
उक्त विषयमा कञ्चपुरका प्रमुख जिल्ला अधिकारी(सीडिओ)गोपालकुमार अधिकारी ती प्रहरी जवानले निवेदन दिएको र आवश्यक जाँचबुझ भइरहेको बताए । यस्तै सुदूरपश्चिमका प्रहरी प्रमुख डीआइजीले पनि घटनाको बारेमा बुझिरहेको र प्रहरी दोषी देखिए कारबाही गरिने बताएका छन्।
यस्तै बिनुकै अत्याचारबाट पीडित भएकी एक सहायक हवल्दार हिजो महेन्द्रनगर पोष्टको सम्पर्कमा आएकी थिइन्। उनले एसपी थापा र प्रहरी निरीक्षक (इन्सपेक्टर) शाहीका कारण सडकमा हातपात हुँदा पनि न्याय नपाएको गुनासो गरेकी थिइन्। १६ वर्षदेखि जनताको सेवामा तल्लीन रहेकी ती प्रहरीले जीवनमा पहिलोचोटि आफूमाथि अन्याय भएको बताइन्।
केही समयअघि उत्कृष्ट कर्मचारी समेत घोषित भएकी उनैलाई न्याय नपाएको भन्दै प्रदेश प्रहरी प्रमुखसम्म गुनासोसहित गएपछि राजीनामा दिन दबाब आएरहेको छ। यतिसम्मकी फेसबुकमा समाचार सेयर गरेको भन्दै उनलाई स्पष्टिकरण सोधिएको छ।
उसो त इन्सपेक्टर बिनु शाहीमा बारेमा विगतमा पनि ‘विवादित’ नबनेकी होइनन्। गत बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
कुँवरलाई त कुटपिट समेत गरिएको थियो। सो घटनापछी प्रहरीको व्यापक आलोचना हुनका साथै कारबाहीको माग गरिएको थियो। घटनाको छानविन गरी प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी, सिताराम विष्ट, बिनुकुमारी शाही र प्रहरी सहायक निरीक्षक अम्मर कार्कीलाई विभागीय कारबाही गरिएको हो।
यस्तै पुसमा पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कक्षभित्रै थुनुवाले नै अर्का थुनुवा कुट्दासमेत बाहिर भएका प्रहरी हेरेर बस्ने गरेको खबर बाहिरिएको थियो। पुस २१ गते लागुऔषध मुद्दामा पक्राउ परेका सन्जय थापामाथि अर्का थुनुवा हरिश भट्टले कुटपिट गरि घाइते बनाएका थिए।
लागुऔषध मुद्दामा नै पक्राउ परेका हरिश भट्टले भित्रै त्यस्तो दादागिरी गर्दासमेत प्रहरीले केही नगरेको पीडितका बुवाले गुनासो गरेका थिए। त्यतिबेला छोरा कुटिएको घटनाबारे बुझ्दा मुद्दा शाखाकी प्रहरी निरीक्षक(इन्सपेक्टर) बिनु शाहीले गोलमटोल जवाफ दिएको बुवाले बताएका थिए। शाहीले भित्र भएको कुटपिटबारे प्रहरीले थाहा नै नपाएको जवाफ दिइन्।
इन्सपेक्टर बिनुले आफूभन्दा तल्लो तहका प्रहरी कर्मचारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कक्षभित्रै थुनुवालाई यातना दिने गरेका प्रशस्त घटना बाहिर आइसके। तर, घटना बाहिरिए पनि उनीमाथि कारबाही भने हुँदैन। हाकिमसँग राम्रो सम्बन्ध भएका कारण बिनुलाई उन्मुक्ति मिलिरहेको स्रोतको बुझाइ छ।
सम्बन्धित समाचार:
कञ्चनपुरमा महिला हवल्दारमाथि हातपात, इन्सपेक्टर बिनुले केरकार गर्दा एसपीको संरक्षण
‘विवादित’ इन्सपेक्टर बिनुको समाचार लेख्नेलाई कारबाही गर्ने कञ्चनपुर प्रहरीको चेतावनी
कञ्चनपुरकी ‘विवादित’ इन्सपेक्टर बिनु पहिले पनि परेकी थिइन् कारबाहीमा
कञ्चनपुरमा इन्सपेक्टर बिनुका ‘कर्तुत’बारे सीडिओ कार्यालयमा उजुरी
कञ्चनपुर प्रहरीको कस्टडीभित्रै छिर्छ अवैध सामान, प्रहरी के हेरेर बस्छ ?
कञ्चनपुरकी ‘विवादित’ इन्सपेक्टर बिनु भन्छिन्: रमाइलो लाग्यो !
इन्सपेक्टर ‘बिनु’को ज्यादती भएपछि जवानको ‘रिजाइन्’
कञ्चनपुरमा पुलिस थुनाभित्रै कुटिन्छन् थुनुवा, इन्सपेक्टर बिनुको गोलमटोल जवाफ
कञ्चनपुरमा पत्रकार कुट्ने यी ३ इन्सपेक्टर र एक असई कारबाहीमा