धनगढी: धनगढीको आसरा सुधार केन्द्रमा सेवाग्राही बढ्दै गएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित डी गाउँमा सञ्चालित आसरा सुधार केन्द्रमा सेवाग्राहीको संख्या बढ्दै गएको हो।
सुधार केन्द्रका प्रहरी इन्चार्ज वरिष्ठ सई टेकबहादुर चन्दले आसरामा सेवाग्राहीको संख्या बढिरहेको जानकारी दिए। उनका अनुसार अहिले ५ जना बिरामीले सेवा लिइरहेका छन्। लागुऔषधका दुर्व्यसनीहरुलाई सुपथ शुल्कमा गुणस्तरिय उपचारको व्यवस्था गरी असल र सिर्जनशिल नागरिक बनाई परिवार र समाजमा पुनःस्थापना गर्ने उद्देश्यले आसरा सञ्चालनमा ल्याइएको हो। सुधार केन्द्रको सञ्चालनबाट लागुऔषधको लतमा फसेकाहरुलाई सामान्य जीवनमा फर्काउन सहयोग पुग्ने बताइएको छ।
नेपाल प्रहरीले सुरक्षा र व्यवस्था हेर्नेगरी प्रहरी परिवार महिला संघ सुदूरपश्चिम र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले आसरा सञ्चालनमा ल्याएका हुन्। तत्कालीन सुदूरपश्चिम प्रदेश प्रहरीका (प्रमुख) डीआइजी भरतबहादुर बोहराको पालामा सञ्चालनमा ल्याइएको उक्त केन्द्रको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उद्घाटन गरेर सेवा सुचारु गरेका थिए।
अहिले सेवाग्राही आउने क्रम जारी रहेको सेवा विस्तारदेखि व्यवस्थापनका कार्यहरु भैरहेको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख (डीआइजी) रबिन्द्र केसीले जानकारी दिए।
उनका अनुसार उक्त सुधार केन्द्रमा हाललाई प्रहरी वरिष्ठ सईलाई खटाइएको भएपनी अब प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई खटाइने छ। यस्तै अहिले एक जना मुख्य (काउन्सिलिङका लागि प्रमुख काउन्सिलर) परामर्शदाता राजुसिंह भण्डारीलाई पनि नियुक्त गरिएको छ।
भण्डारीले दैनिक कक्षा तथा परामर्श सेवा प्रदान गर्ने गरेको डीआईजी केसीले बताए। परामर्शबाहेक त्यहाँ दैनिक योग, ध्यान, शारीरिक व्यामहरु लगायत औषधोपचार पनि गरिने बताइएको छ।
गरियो अनुगमन, सिसिटिभी र लाइट जडान गरिने
यस्तै केही दिन अगाडिमात्रै आसरा सुधार केन्द्रको अनुगमन तथा निरीक्षण गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिवसहित डीआइजी रबिन्द्र केसीको टोलीले केन्द्रलो अनुगमन गरेको हो।
यस्तै सो सुधार केन्द्रमा मन्त्रालयले सिसिटिभीसहित लाइटहरु जडान गर्ने प्रक्रियासमेत थालिएको बुझिएको छ।आसरा धनगढी काठमाडौं र धरानकै आसरा सुधार केन्द्रको मोडालिटीमा सञ्चालनमा रहेको डीआइजी केसीको भनाई छ।
२ सय जनाको क्षमता, शुल्क कति ?
उक्त आसरा सुधार केन्द्रमा २ सय जनालाई राखेर उनीहरुको उपचार गर्न सकिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। लागुऔषध दुर्व्यसनीले व्यक्ति, परिवारमात्र नभए समुदायलाई नै असर पार्ने भएकाले दुर्व्यसनीमा फसेका व्यक्तिलाई रचनात्मक दिशातर्फ अग्रसर गराउने सो केन्द्रको मुख्य उदेश्य छ।
केन्द्रमा बस्नेले खाना, आवास र अध्ययनको समेत गरेर चार महिनामा ५८ हजार रुपैयाँ आसरालाई तिर्नुपर्नेछ।
केन्द्रकाअनुसार औषधी वापतको २ हजार पाँच सय, मर्मत तथा सुधारको एक हजार, पोसाकको चार हजार पाँच सय गरेर ६६ हजार रुपैयाँ तिर्नुपर्ने छ। थप उपचार गर्नुपर्ने भए मासिक १४ हजार पाँच सय रुपैयाँ तिनुपर्ने केन्द्रले जनाएको छ।
र, यो पनिः धनगढीमा आसराको सेवा सुरु, कसरी गर्ने सम्पर्क ?
धनगढीमा आसरा सुधार केन्द्र सञ्चालन
प्रहरी महानिरीक्षक कुँवरद्वारा धनगढीको ‘आसरा’ सुधार केन्द्रको उद्घाटन
सुदूरपश्चिममै पहिलोपटक प्रहरीद्वारा सुधार केन्द्र स्थापना