काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका रबि लामिछानेका तत्कालीन पार्टनर जिबी राईसँग राष्ट्रपतिका कानुनी सल्लाहकारको कनेक्सन भेटिएको छ। सर्वसाधारणले सहकारी संस्थाहरुमा जम्मा गरेको अरबौँ रुपैयाँ कुम्ल्याएर फरार रहेका गोरखा नेटवर्क प्रालिका अध्यक्ष जिबी राईसँग सल्लाहकार बाबुराम कुँवरको कनेक्सन देखिएको हो।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) समेत रहेका वसन्त कुँवरका दाई नाता पर्ने बाबुराम यस अगाडि गण्डकी प्रदेशको पहिलो प्रदेश प्रमुख बनेका थिए। त्यस अगाडि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला भएका बेला कुँवरलाई महान्यायाधिवक्ता नियुक्त पनि गरिएको थियो। कुँवर कांग्रेसनिकट कानुन व्यवसायीको छाता संगठन डेमोक्रेटिल लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहिसकेका छन्।
हाल राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार रहेका उनी केही समय अगाडि पनि विवादमा तानिएका थिए। राष्ट्रपतिको कानुनविज्ञमा नियुक्त भएको चार महिनापछि कुँवरले सरकारविरुद्ध बहस गरेको पाइएपछि उनी विवादमा मुछिएका थिए। कुँवरले साउन १७ गते न्यायाधीशद्वय दीपेन्द्रबहादुर बम र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासमा बहस गरेका थिए। त्यस्तै साउन २४ गते न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा सरकारविरुद्ध बहस गरेको पाइएको थियो।
उनै विवादित कानुनी सल्लाहकार कुँवरको अहिले फरार ठग जिबी राईसँग पनि कनेक्सन पाइएको हो। उनले जिबी जोडिएको एक संस्थाको सल्लाहकार बसेर मासिक १ लाख रुपैयाँ तलब लिने गरेको तथ्य पाइएको छ। कुँवरले नेचर हर्ब्स कम्पनीबाट तलब लिने गरेका हुन्। नेचर हर्ब्स सोही कम्पनी हो, जहाँ सहकारी संस्थाको अरबौं रकम हिनामिना गर्नेहरुको साझेदारी रहेको तथ्य यसअघि नै खुलिसकेको छ। जिबीका जेलमा रहेका पार्टनर कुमार रम्तेलकी पत्नी कविता तामाङ्ग एमडी रहेको उक्त नेचर हर्ब्स कम्पनी प्रालि रहेको घरमा प्रहरीले अघिल्लो साता छापासमेत मारेको थियो।
नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीसँग सम्झौता गरेर उक्त कम्पनीले सो घर भाडामा लिएको थियो। शंखमूलस्थित उक्त घरमा चार वर्षदेखि सो कम्पनीको बोर्ड झुण्ड्याइएको छ।
प्रहरीको अनुसन्धानबाट जिबीको योजनाबमोजिम डुबाइएका सहकारी संस्थाका हार्ड डिस्क त्यहाँ राखिएको खुलेको थियो। अहिले राष्ट्रपतिका कानुनी सल्लाहकार कुँवरले नै त्यहाँ भएका र आफ्नो साथमा भएका प्रमाण हटाउने र मेटाउने गतिविधि गरिरहेको स्रोतको दाबी छ। स्रोतका अनुसार नेचर हर्ब्समा पनि सबैभन्दा धेरै जिबीकै हालिमुहाली थियो।
कविताका श्रीमान कुमार रम्तेल, जिबी, रवि र पूर्व डीआइजी जोशी कुनै समय घनिष्ट पार्टनर थिए।
सहकारीको रकम हिनामिनामा जिबीसहित रवि लामिछानेहरुको नाम सार्वजनिक भएपछि जीबी भने फरार छन्। उनलाई पक्रन प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा प्रबन्ध निर्देशक रहेका बेला जीबी र रविसहितले उक्त हिनामिनाको रकम त्यता लगानी गरेको पनि खुलेको थियो।