धनगढी : नेकपा एमाले कैलालीको अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
तेस्रो दिन बिहीबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियो तर साढे ५ बजे निर्वाचन कमिटीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म मतदान स्थगित गरिएको जनाएको छ ।
प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले अर्को सूचना जारी नभएसम्ममा लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जारी सूचनामा उल्लेख गरेका छन् ।
यसअघि मंगलबार र बुधबार पनि मतदानको तालिका सार्वजनिक गरिएको थियो तर अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
बिहीबार पनि मतदान हुने प्रतिक्षामा रहेका अधिवेशन प्रतिनिधिले अन्तिम समयमा आएर निर्वाचन कमिटीले स्थगित गरेपछि मतदान हुनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका छन् ।
तर निर्वाचन कमिटीले भने प्राविधिक कुरा मिलाउनुपर्ने भएकाले समस्या भएको बताउँदै आइरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अधिवेशनको उद्घाटन गरेका थिए । उनले सहमति नभए भोलिपल्टै निर्वाचन प्रक्रिया थाल्ने निर्देशन दिएको भएपनि कैलालीमा पाँचौ दिन समेत मतदान हुन नसकेको हो ।
एमालेका केन्द्रीय स्तरका नेताहरू केन्द्रीय कमिटि बैठकमा सहभागी हुन काठमाडौ गएका कारण पनि मतदानको प्रक्रिया प्रभावित भइरहेको जिल्लाका नेताहरू बताउँछन् ।
कैलालीमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।