धनगढी : कैलालीको अत्तरियामा दोहोरी साँझको विवादपछि भएको गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणको अनुसन्धानका लागि आएको सिआइबीको टोली फिर्ता गएको छ ।
प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)को टोली सो घटनाको अनुसन्धान गर्नभन्दै सुदूरपश्चिम आएको थियो ।
काठमाडौंबाट सिआइबीका प्रहरी निरीक्षक (इन्सपेक्टर) गणेश जैसीको नेतृत्वमा आएको टोली अघिल्लो सातातिर काठमाडौं फर्किएको बताइएको छ।
अपराध अनुसन्धानमा काबिल अफिसर मानिएका सिआइबीका इन्सपेक्टर जैसी उक्त टोली घटनाको भने पुरा अनुसन्धान नगरी काठमाडौं फर्किएका हुन ।
अहिले पनि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
पक्राउ परेका ६ जना छुटे
देउवाको मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना छुटेका छन् । सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै फाइल फिर्ता गर्दैै नियन्त्रणमा रहेकाहरुलाई हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि उनीहरु छुटेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले देउवाको मृत्यु घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाहरु हाजिरी जमानीमा छुटेको बताए ।
चन्दकाअनुसार सरकारी वकिलको कार्यालयले आइतबार फाइल फिर्ता पठाउँदै छाड्न निर्देशन दिएको थियो । सोहीअनुसार गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ बस्ने २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ बस्ने २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका–९ बस्ने ३८ वर्षीय रामबहादुर ऐर छुटेको डीएसपी चन्दले बताए । तर उनीहरुमाथि अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी, जिल्ला प्रहरी लगायत इलाका प्रहरी कार्यालय मालाखेतीको टिम पनि सो अनुसन्धानमा सक्रिय छ। केही समय अगाडिमात्रै सो घटनाको अनुसन्धान गर्न प्रहरीको एक विज्ञ टोली खटाइएको थियो।
२५ पुसको राति साथीसँगै अत्तरियास्थित न्यू दोहोरी साँझमा गएका देउवा त्यहाँ भएका अन्य व्यक्तिसँग वादविवाद भएपछि घर जान भन्दै बाहिर निस्किएका थिए । उनीसँगै गएका कृष्णपुरकै टेकबहादुर नायक मोबाइल दोहोरी साँझमै छुटेको भन्दै लिन फर्केका बेला उनी त्यहाँबाट एक्लै हिँडेका थिए ।
देउवालाई नदेखेपछि उनकै मोटरसाइकल चढेर नायक होटलमा सुत्न गएका थिए तर देउवा भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा अर्धचेत अवस्थामा भेटिएका थिए ।
शरीरमा चोटपटक देखेपछि आफन्तले उपचारका लागि त्यही दिन धनगढी ल्याएका थिए, उनको उपचारकै क्रममा मृत्यु भएको थियो । देउवाको मृत्यु भएपछि हत्या गरिएको भन्दै उनीसँगै गएका साथीसँगै ६ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो ।
र यो पनि !
सुदूरपश्चिमको ‘देउवा हत्याकाण्ड’मा सिआइबी पस्यो !
अत्तरियाको सत्कार दोहोरी साँझमा कुटपिटपछि देउवाको मृत्यु, ६ जना प्रहरी खोरमा
अत्तरिया दोहोरी साँझकाण्डको नालिबेली, सँगै भएको थियो दारुपार्टी
कञ्चनपुरका देउवा मृत्यु प्रकरणमा अनुसन्धान गर्न विज्ञ टोली परिचालन, ‘पोलिग्राफ टेस्ट’ सकियो