काठमाडौं– नेपाली क्रिकेट टोली र जिम्बावे ‘ए’ टोलीबीच आज प्रतिस्पर्धा हुँदैछ । सन्दीप लामिछानेको कप्तानीमा त्रिवि क्रिकेट मैदानमा खेल हुँदैछ । खेल बिहान ९ः३० बाट सुरु हुनेछ।
द्विदेशीय प्रतियोगिताअन्तर्गत आज पहिलो एकदिवसीय खेल हुनगइरहेको हो । जिम्बावे टेस्ट मान्यता प्राप्त राष्ट्र हो । पछिल्लो केही वर्षयता जिम्बावेको प्रदर्शन खस्के पनि अघिल्लो वर्ष टी ट्वेन्टीमा पाकिस्तानलाई हराएको थियो ।
यद्यपि नेपालविरुद्ध खेल्न लागेको यही टोली भने होइन। तर सिनियर राष्ट्रिय टीमबाट खेलिसकेका आठ खेलाडी भने आजको स्क्वाडमा सामेल छन् । त्यसैले आजको खेल रोचक प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। जिम्बावेको टोलीको कप्तानी टिनोटेन्डा मुटोमबोजीलाई दिइएको छ।
नेपालले आईसीसी विश्वकप लिग–२ को तयारीस्वरूप जिम्बावे ‘ए’ु सँग प्रतियोगिता खेल्न लागेको हो । यो श्रृङ्खलालाई अन्तर्राष्ट्रिय मान्यता भने दिइएको छैन ।
एकदिवसीय श्रङ्खलाको दोस्रो खेल सोमबार हुनेछ भने तेस्रो खेल बुधबार हुनेछ । लगत्तै नेपालले टी–ट्वेन्टी श्रृङ्खला पनि खेल्नेछ । टी–ट्वेन्टी श्रृङ्खला वैशाख २३ देखि २६ सम्म चल्नेछ ।