काठमाडौं : नेपालले अर्को साता हङकङमा गएर फ्रेन्डसीप कप र टी-२० आई त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।
नेपाल र हङकङबीच फागुन २६ (९ मार्च)मा फ्रेन्डसीप कपको खेल हुनेछ । दुई देशबीचको सम्बन्धको कारण उक्त टी-२० आई खेल हुने हङकङ क्रिकेट बोर्डले जनाएको छ ।
नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । यसअघि नेपाल, ओमान, युएई र हङकङबीच चार देश सम्मिलित टी-२० आई सिरिज हुने भनेपनि नहुने भएको छ ।
त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ । फागुन २९ (१२ मार्च) मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोहि दिन हङकङ र पपुवा न्युगिनीबीच दोस्रो खेल हुनेछ ।
फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । फाइनलमा नपुग्ने टोलीले हङकङ ए सँग खेल्ने तालिका हुनेछ ।
नेपाली क्रिकेट टोली आगामी जुनमा वेस्टइन्डिज र अमेरिकामा हुने टी-२० विश्वकप अघि व्यस्त छ । घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्ड्स र नामिवियाबीच त्रिकोणात्मक टी-२० आई सिरिज चलेको छ । नेपालले मंगलबार फाइनलमा नेदरल्यान्ड्स र नामिबियामध्ये एक टोलीसँग खेल्नेछ ।
त्यसलगत्तै नेपाल हङकङ जानेछ । हङकङबाट फर्केपछि घरेलु मैदानमा आयरल्यान्ड ए सँग पाँच खेलको टी-२० सिरिज खेल्ने तालिका छ ।
त्यसपछि नेपाल भारतमा बरोडा र गुजरातसँग टी-२० त्रिकोणात्मक सिरिज खेल्न जानेछ । सिरिज सकेलगत्तै एसीसी प्रिमियर कप खेल्न ओमान जानेछ ।