महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मृत फेला प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा (मंगलबार) बिहान भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
यसैबीच, प्रहरीले किटानी जाहेरीको आधारमा २ जनालाई पक्राउ नै गरेको जानकारी दिएको छ। आफन्तले केही व्यक्तिको नामसहित जाहेरी दिएकोमा अहिलेसम्म २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले महेन्द्रनगरपोष्टलाई बताए।
उनका अनुसार पक्राउ पर्नेमा स्थानीय भरत चन्द र दिपकराज जोशी रहेका छन्। यस्तै प्रहरीले अहिले पोस्टमार्टम रिपोर्ट कुरिरहेको र थप अनुसन्धान भैरहेको जनाएको छ।
पीडितका आफन्तले बिष्टको शव फेला परेपछि हत्याको आशंका गर्दै अनुसन्धानको माग गरेका थिए। एक साता अगाडिमात्र भारतबाट नेपाल आएका उनी मंगलबार मृत फेला परेका थिए। भारतमा हुनुअघि उनी मलेसियामा काम गर्थे। नेपाल आर्मीमा कार्यरत मृतक बिष्टकी श्रीमती शान्ति सेनामा सुडानमा छिन्। उनीहरूका २ वर्षीया छोरी छन्।
आइतबार दिउँसो १२ बजेतिर घरबाट निस्किएका बिष्ट हराइरहेका थिए। उनले बोक्ने मोबाइल ‘स्विच अफ’ थियो। उनी फेला नपरेपछि परिवारले खोजबिनका लागि प्रहरीमा उजुरी दिएको थियो।
र, यो पनि: कञ्चनपुरमा सेनाका पति विष्ट मृत फेला प्रकरण: जाहेरी दर्ता, सोधपुछमै प्रहरी
कञ्चनपुरमा विष्ट मृत फेला प्रकरण: थप एकजना नियन्त्रणमा, जाहेरी आउँदै
कञ्चनपुरमा सैनिकका पति विष्टको हत्या आशंका, नहरमा शव (भिडिओसहित)