काठमाडौं : सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
आज बसेको क्याबिनेट बैठकले प्रतिवेदन आवश्यक अध्ययनपछि कार्यान्वन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
‘प्रधानमन्त्रीले प्रष्टसँग गृहमन्त्रीलाई आयोगको प्रतिवेदन कार्यान्वयमा लैजान निर्देशन दिइसक्नुभएको छ’, उहाँले भन्नुभयो, ’अब को कसको मान्छे भनेर चुप बस्ने अवस्था छैन । जो–जो दोषी ठहरिन्छन्, उनीहरूलाई आयोगको प्रतिवेदनअनुसार कारबाहीको दायरामा ल्याउने निर्णय भएको छ ।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६१ किलो अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । हङकङबाट मोटर साइकलको ब्रेकशुमा लुकाएर नेपाल भित्र्याइएको उक्त सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरेको थियो ।
तर, तत्कालीन प्रमुख प्रतिपक्ष एमालेले सिआइबीको अनुसन्धानमा चित्त नबुझाएपछि सरकारले पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले हिजो गृहमन्त्रीलाई बुझाएको प्रतिवेदन आज प्रधानमन्त्रीको हातमा पुगेलगत्तै क्याबिनेट बैठकले पछिल्लो निर्णय गरेको हो ।
आजैको बैठकले सिआइबी प्रमुख किरण बज्राचार्यको सरुवासमेत गरेको छ ।