काठमाडौं – आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ ।
प्रहरीमा आईजीपीका लागि अन्य दाबेदारमा एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्र धानुक थिए ।
प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले सोमबारदेखि अवकाश पाउने भएपछि सरकारले नयाँ आईजीपी चयन गरेको हो ।
दैलेखका बासिन्दा सिंहको जन्म २०२४ सालमा भएको थियो । उनले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।
उनी २०४९ चैतमा नेपाल प्रहरीमा निरीक्षक पदमा प्रवेश गरेका थिए । आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरे पनि उनी वैकल्पिक सूचीमा परेका थिए । उनको कार्यकाल करिब १ वर्ष हुनेछ ।
त्यसै गरि सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी बल (एपिएफ)को नयाँ महानिरिक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो ।