काठमाडौं– नेपाल जिम्बाब्वे ‘ए’ सँगको पहिलो टी–२० अभ्यास खेलमा ६ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय ८२ रनको लक्ष्य जिम्बाब्वेले चार विकेट गुमाएर १८ ओभर ५ बलमा भेटायो ।
जिम्बाब्वेका लागि तादिवान्से मरूमनीले ५६, टोनी मुनयोङ्गाले ५० र इनोसेन्ट कायाले ४७ रन बनाए । बलिङतर्फ नेपालका बसिर अहमदले दुई विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनायो ।
नेपालका लागि मोहम्मद अदिल आलमले नटआउट ४७ रन बनाए । यस्तै कुशल भुर्तेल ४६, रोहित पौडेल ३६ र दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट भए । बलिङतर्फ जिम्बाब्वे का ब्राड इभान्स, लुकी जोङ्गे, ब्रान्डन मभुता र जोन मसराले एकरएक विकेट लिए ।
नेपाल र जिम्बाब्वे ए ले तीन खेलको टी–२० क्रिकेट र तीन खेलको एकदिवसीय क्रिकेट खेल्ने तालिका छ ।आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको तयारीका लागि नेपालले जिम्बाब्वे ुएु सँग शृङ्खला खेल्न लागेको हो ।