धनगढी : कर्णाली नदीमा मोटर बोट सञ्चालन गर्न रोक लगाएको छ । राष्ट्रिय निकुञ्जको क्षेत्रमा हुने दुर्घटना तथा विपद्मा समेत बोट प्रयोग गर्न नेपाली सेनाले रोक लगाएको हो।
लम्कीचुहा नगरपालिकाले २०८० फागुन १८ गते स्काई बर्ड एड्भेन्चर स्पोट्स प्रालिलाई पत्र पठाएको थियो।
नगरपालिकाले चिसापानी क्षेत्रमा हुने विपद् तथा दुर्घटनमा परेकाको उद्दारमा सहयोग गर्न मोटर बोट सञ्चालनको लागि माग गरेको छ।
स्काई बर्डले २०८० चैत ४ गते बर्दिया राष्ट्रिय निकुञ्जलाई आवश्यक सहजिकरणका लागि भनेर पत्र पठाएको छ। उक्त पत्रमा लम्किचुहा नगरपालिकाको क्षेत्रमा बोट सञ्चालनको अस्थायी अनुमति माग गरिएको छ।
पुल क्षेत्रमा विपद् तथा दुर्घटनाहरू हुन सक्ने भएकाले अस्थायी पार्किङ (पोट) स्थापनाका लागि आग्रह गरिएको छ। तर, बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रमा स्काई बर्डले मोटर बोट सञ्चालन गर्न पाएको छैन।
स्काई बर्ड एड्भेन्चरका प्रबन्धक निर्देशक केशव गाहले बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय, विभाग, पर्यटन मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म पनि सो क्षेत्रका विपद्मा बोटबाट उदारका लागि आग्रह गरेको बताए।
कैलाली र सुर्खेतको सिमा क्षेत्रमा पर्ने कर्णाली नदीमा चार करोडको लागतमा ‘मोटर बोट’ सञ्चालनमा ल्याइएको छ। कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पञ्चपुरी नगरपालिका–११ क्षेत्रमा पर्ने कर्णाली नदीमा ‘मोटर बोट’ सञ्चालनको अनुमती छ। मोहन्याल गाउँपालिकाले उक्त क्षेत्रमा बोट सञ्चालन गर्न तथा विपद्मा परेकाको उदार गर्न अनुमति दिएको छ। तर, बर्दिया जिल्लाको सीमा क्षेत्रमा बोट सञ्चालनको अनुमति छैन।
राष्ट्रिय निकुञ्जको कानुनमा बोट सञ्चालनको व्यवस्था नभएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर सिन्धु प्रसाद ढुङ्गानाले निकुञ्जको कानुनमा बोट सञ्चालनको व्यवस्था नभएको बताए।