धनगढी: टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएर छुटेका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीको अचानक प्रेसर बढेर अस्पताल भर्ना गरिएको बताइएको छ। आज (सोमबार) अस्वाभाविक ढंगले रक्तचाप बढेपछि उनलाई साँझ अस्पताल भर्ना भएको बताइएको हो।
पत्रकारहरुलाई काठमाडौंमा आफूले तीन महिनादेखि खाना नखाएको जानकारी दिँदै रेशमलाल चौधरीले श्रीमती एवम् आफ्नो पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगिसकेको पनि बताएका छन्। उनले भनेका छन्, ‘तीन महिनादेखि खाना खाएको छैन। कहिले दुई चम्चा खान्छु, कहिले के, कहिले के, आत्महत्या गर्ने अवस्थामा पुगिसकेँ। केही पनि मान्दै मान्दैनन्।’
चौधरीले पार्टी निर्माण गर्दा भोगेको पीडाभन्दा अहिलेको पीडा बढी भएको पनि बताए। घरकै मान्छेले भनेको नमान्दा झन् पीडा भएको उनको भनाई छ। पीडा सुनाउँदै भने, ‘म जत्तिको पीडित को होला ? हे भगवान् पीडा भन्ने तैंले मेरो भाग्यमा मात्रै लेखिस् है। जिन्दगीभरि संघर्ष गरेँ। काठमाडौं आउँदा भृकुटीमण्डपमा भारी बोकेँ। पियनको जागिर खाएँ। रेडियो नेपाल टेलिभिजन हुँदै संघर्ष गर्दै आफ्नो गाउँ पुगेँ। गाउँबाट जेल पुगेँ। जेलमा साढे ८ वर्ष बसेँ। अब के गर्ने, पीडा छ। घरकै मान्छेले नमानेपछि झन् बढी पीडा हुँदोरहेछ।’
नागरिक उन्मुक्ति पार्टीभित्र केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारको सहभागिताका विषयमा विवाद छ। यस्तै, निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षमा वैधानिकता नदिएपछि पार्टी नेताहरू विभाजित छन्। यसैका कारण विवाद चर्किदै गएको देखिन्छ। सोही कारण रेशम र रन्जिताको सम्बन्धमा पनि दरार आएको छ।
सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति सहभागी छ। रन्जीता केन्द्रीय गठबन्धनको पक्षमा छिन् भने रेशम प्रदेशमा कांग्रेससँगको सहकार्यको पक्षमा छन्।
रेशमको भनाइ जस्ताको तस्तै:
मलाई थाहा छ यो बिरुवा कुन जातको हो। स्याउको हो कि, ओखरको हो कि, आँपको हो कि। मैले तीन महिनादेखि खाना खाएको छैन (भावुक बन्छन्)। कहिले दुई चम्चा खान्छु, कहिले के कहिले के। आत्महत्या गर्ने परिस्थितिसम्म पुगाइसके। केही पनि मान्दै मान्दैनन्। केन्द्रीय समितिको निर्णय नमान्ने भन्छन्। पार्टी कसले चलाइरहेको छ ? पदीय लोलोपता धेरै भयो। अब २३ र २४ गतेको बैठकले कारबाही गर्छ। सम्झौता भयो भने पार्टी मिलाउने हो, नत्र छानिछानी कारबाही गर्ने जसले गल्ती गर्यो उ कारबाहीमा पर्यो।
बाहिरबाट हस्तक्षेप भएर यो भइरहेको छ। अहिलेको सरकारले हाम्रो पार्टी चलाइरहेको भएर यस्तो भइरहेको छ। पार्टी अर्काको इशारामा किन चल्ने ? केन्द्रीय समितिबाट निर्णय गरेर जाऊँ भनेको हो। २३ र २४ गतेसम्म यथास्थितिमा चल्छ। त्यसपछि केन्द्रीय समितिले गरेको निर्णय स्वीकार गर्छौँ।
म सबैसँग क्षमा माग्न चाहन्छु। आफैँले रोपेको बिरुवालाई अर्को मान्छेले आएर काटेको टुलुटुलु हेर्न सकिने अवस्था छैन। सबै पिडा बुझ्नुभएको छ। म जतिको पीडित को होला ? हे भगवान् पीडा भन्ने तैंले मेरो भाग्यमा मात्रै लेखिस् है। जिन्दगीभरि संघर्ष गरेँ। काठमाडौं आउँदा भृकुटीमण्डपमा भारी बोकेँ। पिउनको जागिर खाएँ। रेडियो नेपाल टेलिभिजन हुँदै संघर्ष गर्दै आफ्नो गाउँ पुगेँ। गाउँबाट जेल पुगेँ । जेलमा साढे ८ वर्ष बसेँ। यस्तै तरिका हो भने… भन्ने दिन पनि आउला। अब के गर्ने पीडा छ।
घरकै मान्छेले नमानेपछि झन् बढी पीडा हुन्छ। पार्टीका मान्छेले लोग्ने–स्वास्नी मिल्या छौ भन्छन्। म अनुरोध गर्छु, उहाँबाट स्वीकार हुँदैन। म बेवकुफ बन्छु। के गर्नु, बेवकुफ बनिरहने मेरो भाग्यमा लेखेको छ। पार्टी मिल्ला भनेर चुपचाप बस्ने हो।
र, यो पनिः नाउपाको अवैध पक्षले बोलायो केन्द्रीय पदाधिकारी र सदस्यको बैठक
हत्याको धम्कीकाण्डपछि रेशमलालले भने: स्वार्थीहरुले मलाई जेल हाल्न खोजे
सुदूरपश्चिमको शाह सरकार जोगाउन रेशमलालद्वारा ४ जनाको हत्या गर्ने धम्की
पार्टी अफिसमा ‘बुढाबुढी’कै कार्यकर्ताबीच कुटाकुट