धनगढी : बझाङमा हुन गइरहेको प्रदेश सभा उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री एवं प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि यहाँ वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । अभिषेक स्वर्गीय सिंहका जेठा छोरा हुन् ।
अभिषेकले नारा जुलुससहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता लिएर उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
बुवाको बार्षीकीमा रहेका अभिषेकले सेतो कपडामै उमेदवारी दर्ता गरेका थिए ।
उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिदै अभिषेकले आफु गलत काम नगर्ने र झुटा नबोल्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने-‘बझाङी जनताको दुखमा साथ दिनुपर्छ र समाज परिर्वतन गर्नुपर्छ भनेर बुवासंगै राजनीतिमा हिडेको थिए, आज यो परिस्थिति र समयले यो अवस्थामा पुर्याएको छ । त्यही परिस्थीतिको कारण पार्टीले मलाई टिकट दिएको छ ।’
उनले बुवाले छोडेर गएका सबै जिम्मेवारी आफुले पुरा गर्नुपर्ने वचन दिदै आफुलाई बुवाले ‘बझाङी जनताको दुखको घाउमा मलम लगाउनु, सक्ने काममा सहयोग गर्नु, नसक्ने कामलाई सक्दैन भन्नु’ भनेर आर्शिवाद दिइरहेको आभास भईरहेको बताए ।
उनले चुनाव हारे पनि जितेपनि आफुबाट गल्ती नगर्ने बताए । साथै गलत काम नगर्ने र झुटा आश्वासन नदिने प्रतिबद्धता व्यक्त गरे ।