धनगढी : नेपाल–भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरु लागुऔषध नियन्त्रणका लागि मिलेर काम गर्न सहमत भएका छन्। भारतको पलियामा बसेको दुई देशका अधिकारीबीचको संयुक्त बैठकमा चोरी, तस्करी, सीमा अपराध तथा लागुऔषध नियन्त्रणका लागि सहकार्य गरेर जाने सहमति भएको हो।
सीमावर्ती बजारहरुमा बढ्दो लागुऔषधको कारोबार नियन्त्रणका लागि नेपाली सुरक्षा अधिकारीहरुले भारतीय सुरक्षा निकायको सहयोग खोजेका थिए। बैठकमा भारतीय सुरक्षा अधिकारीहरुले आसन्न लोकसभा चुनावका बेला सीमा क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउने विषयलाई प्राथमिकताका साथ उठाएका थिए।
कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले लागुऔषध नियन्त्रणका लागि सहकार्य गर्ने, भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा निगरानी बढाउने, संयुक्त गस्ती गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए। लागुऔषध सीमावर्ती भारतीय बजारबाट आउने भएकाले नेपाली पक्षले लागुऔषध नियन्त्रणको विषयलाई प्राथमिकताका साथ उठाएको उनले बताए।
खुला सीमानाका कारण भारतबाट लुकीछिपी ल्याइने गरेकाले कैलाली, कञ्चनपुरमा लागुऔषधको कारोबार र प्रयोकर्ताको संख्या बढ्दो छ । प्रमुख सुरक्षा चुनौती बनेको लागुऔषध नियन्त्रणका लागि प्रहरीले सुदूरपश्चिममा कारोबारीलाई पक्राउ गर्ने तथा लागुऔषधविरुद्ध सचेतना फैलाउने अभियान नै सञ्चालन गरिरहेको छ।
नाकामा नेपालीमाथि दुव्र्यवहारका घटना हुन नदिन र सहज आवागमनको व्यवस्था गर्न पनि भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण गराइएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए।
भारतीय सुरक्षा अधिकारीले भारतमा हुन लागेको लोक सभा निर्वाचनको सुरक्षाको विषयलाई बैठकमा महत्वका साथ उठाएको नेपाली सुरक्षा अधिकारीले बताएका छन्। चुनावलाई लक्षित गरेर संयुक्त गस्ती गर्ने, नाकामा निगरानी बढाउने, शंकास्पद व्यक्तिमाथि निगरानी गर्ने, अपराध गरेर फरार भएका व्यक्तिलाई पक्राउ गर्ने, काठ तथा वन्यजन्तु तस्करी नियन्त्रण गर्ने विषयमा दुवै देशका सुरक्षा अधिकारीबीच समझदारी भएको बताइएको छ।
लोकसभा चुनावका बेला सुरक्षालाई ध्यानमा राखेर सीमा नाका ७२ घण्टा बन्द गरिने जानकारी भारतीय अधिकारीले दिएका थिए। सो क्रममा एम्बुलेन्स र अत्यावश्यक सामान बोकेका सवारी साधनलाई सहजरुपमा आवतजावतको व्यवस्था गर्न नेपाली अधिकारीले आग्रह गरेका छन्।
शनिबार भएको बैठकमा नेपालका तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्र, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, दुवै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख, त्रिनगर भन्सार कार्यालय तथा आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख, डिभिजन वन प्रमुखलगायतको सहभागिता थियो। त्यस्तै भारतबाट सीमावर्ती लखिमपुर खिरी जिल्लाका डिएम महेन्द्रबहादुर सिंहलगायत सुरक्षा निकाय, भन्सार र वन कर्मचारी सहभागी थिए।