धनगढीः कैलालीका पाँच बुँदे मागसहित एक जना अनशन बस्ने भएका छन्। मोहन्याल गाउँपालिकाका–३ फलेबिसौनाका मोहनसिँह टमट्टा नेपाल सरकारलाई ५ बुँदे माग राख्दै अनशन बस्ने भएका छन्।
उनले हिजो (शनिवार) पत्रकार सम्मेलन गर्दै आफु अनशन बस्ने जानकारी गराएका हुन्। मोहन महाकाली–मेची शुद्ध आहार अभियान मुक्ति दीप नागेश्वरी शिव मन्दिरकर्ता समेत हुन्। उनले पत्रकार सम्मेलनमार्फत नयाँ वर्ष २०८१ वैशाख २ गतेबाट काठमाण्डौँको संसद् भवन बाहिर पानी मात्र पिएर अनशन बस्न बताएका छन्।
उनले नेपाल सरकारसँग नेपालमा शुद्ध आहार धर्मको घोषणा हुनु पर्ने, नेपालमा बली प्रथाको अन्त्य हुनु पर्ने, गौमाताको गौचरण आरक्षण हुनुपर्ने, नेपाली भूमिमा सीमा पर्खाल हुनुपर्ने र मानसिक असन्तुलन भएका मानिसहरूको व्यवस्थापन हुनुपर्ने लगाएतका पाँचवटा माग राख्दै अनशन बस्ने जनाएका छन्।
सरकारलाई दबाब दिन आफूले अनशन सुरु गर्न लागेको उनले बताए। आफूले राखेका माग सरकारले समाधान गर्नेमा पनि आफु विश्वस्त रहेको बताए। केही महिना अगाडीमात्र उनी बौनियाबाट पैदलयात्रा गरेर पशुपति मन्दिर पुगेका थिए।