धनगढीः भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा मृत्यु भएका सबैजना भेरी अञ्चलको बबईका भएको खुलेको छ। भारतीय प्रहरीको स्थानीय प्रहरी थानाका सिनियर इन्सपेक्टर अनिश अहमदले मृतक सबै नेपाली रहेको र उनीहरु बबईका भएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा चालक राजेन्द्र कुमारसहित (नेपालीहरू) ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन्। चालक भने भारतीय नै हुन्। उनी बेतालघाटका स्थानीय हुन्। बेतालघाटको उचकोट गाउँमा मृतकहरू जल जीवन मिसन प्रोजेक्टमा काम गर्थे।
प्रहरी स्रोतका अनुसार सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट तल खसेको हो। गाडी खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिमको टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको थियो।
उक्त टोली र स्थानीयले मिलेर घटनास्थलबाट आठ जनाको शव निकालेको थियो। उनीहरु दुर्घटनास्थल नजिकै सडक छेउमा पाइप बिछ्याउने काम गर्थे। उनीहरुको शव हलद्वानीस्थित नैनिताल सरकारी अस्पतालमा राखिएको छ। मृतकहरु काम सकेपछि उनीहरूले एउटा गाडी भाडामा लिएर टनकपुरस्थित चम्पावाट जाँदै थिए।
दुर्घटनामा दुई नेपालीहरू शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन्। उनीहरु पनि नेपाली नै हुन्। उनीहरुमध्ये एक जना सिकिस्त छन् भने एक जना सामान्य रहेको प्रहरीको भनाइ छ। यस्तै दुर्घटनाबारे उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पनि चिन्ता व्यक्त गरेका छन्।
उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबैजना फर्कंदै गर्दा उक्त दुर्घटना भएको हो।
र, यो पनिः नैनितालमा गाडी दुर्घटना, ७ नेपालीसहित ८ जनाको मृत्यु