काठमाडौं – नेपाल प्रहरीको २९ औं नवनियुक्त प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह अब्बल प्रहरी अधिकृत हुन् । विसं २०२४ मा दैलेखमा जन्मिएका सिंह २०४९ साल चैत ११ गते निरीक्षक दर्जाबाट प्रहरी सेवा सुरु गरेका थिए । यही वर्षको चैत १० सम्म (११ महिना) उनको कार्यकाल छ ।
महानिरीक्षक सिंह विसं २०६२ मा प्रहरी नायब उपरीक्षक, २०६९ मा प्रहरी उपरीक्षक, २०७४ मा प्रहरी वरिष्ठ उपरीक्षक, २०७७ मा प्रहरी नायब महानिरीक्षक र २०७८ मा प्रहरी अतिरिक्त महानिरीक्षक भएका थिए ।
राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरी विभिन्न सङ्गठन व्यवस्थापन र क्षमता विकासमा १३ वटा तालिम लिएका सिंहले सुप्रवल जनसेवा श्रीलगायतका पदक प्राप्त गरेका छन् ।
उनीसँग नेपाल प्रहरीको मधेश प्रदेश, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय अपराध महाशाखा हुँदै केन्द्रीय अनुसन्धान ब्यूरोलगायतको कमान्ड कुशलतापूर्वक सम्हालेको अनुभव छ ।