डडेल्धुरा: संघीय सरकार मातहतको एक मात्रै अस्पताल हो डडेल्धुरा अस्पताल।
०१८ सालदेखि विभिन्न नामले सञ्चालित अस्पताल ०७५ फागुन ५ गते विशिष्ट विशेषज्ञ सेवा सहितको डडेल्धुरा अस्पतालमा स्तरोन्नति भएको थियो।
०७५ सालमै विशिष्ट विशेषज्ञ अस्पताल भए पनि अहिलेसम्म स्विकृत दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै छ। उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो।
जहाँ दरबन्दीअनुसार एक जना ११औं तहको मेडिकल सुपरिटेन्डेण्ड, ९औं र १०औं तहका थप १९ जना कन्सल्टेण्ड चिकित्सक हुनुपर्ने हो।
कागजको खोस्टामा विशिष्ट विशेषज्ञ अस्पतालको उपमा पाएको डडेल्धुरा अस्पतालले दिने सेवा सुविधाले सुदूर पहाडका नागरिक आक्रान्त छन्।
प्रदेश मातहतको अस्पतालले संघ मातहतको अस्पतालमा बिरामी रेफर गर्नुपर्ने हो। तर, संघ मार्फतको डडेल्धुरा अस्पतालले सुदूरपश्चिम प्रदेश मातहतको सेती प्रादेशिक अस्पतालमा बिरामी रेफर गर्छ।
सेवाग्राहिले चरम असन्तुष्टि पोख्ने डडेल्धुरा अस्पताल आज (बिहीबार) एकाएक देशभरिमै उत्कृष्ट पाँचौंमा पर्न सफल भएको समाचार बाहिरीएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले भने मजाकको विषय बनाइरहेका छन्।
स्वास्थ्य मन्त्रालयको टोली आएर तीन दिनसम्म सबै वार्डहरुमा अध्ययन गरिसकेपछि स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागले गर्ने देशभरीका विभिन्न अस्पतालहरुको मूल्याङ्कनमा डडेल्धुरा अस्पताल उत्कृष्ट पाँचमा परेको थियोे।
तर, डडेल्धुरा अस्पतालले दिने सेवा सुविधाबाट आक्रान्त सेवाग्राहीले सिटामोल नपाइने अस्पताल कसरी उत्कृष्ट पाँचमा पर्न सफल भयो ? भनेर प्रश्न गरिरहेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा बसन्त भण्डारीले हेल्थ पोष्टभन्दा तल झरिसकेको जीवन जल पनि किन्नुपर्ने भनेर लेखेका छन्।
बेद कुँवरले कुन चाहिँ आँखा फुटेकोले मूल्यांकन गरेछ कुन्नि ? भनेर प्रश्न गरेका छन्।
बैतडीका पत्रकार भगीरथ अवस्थीले ५ दिनदेखि डडेल्धुरा अस्पतालमा रहेको र सास्ती भोगिरहेको लेखेका छन्।
सिद्धराज अवस्थीले अस्पतालमा उपचार गर्ने बिरामीलाई अस्पतालको अवस्था कस्तो छ भनेर थाहा हुने बताउँदै मूल्यांकनकर्ता र तथ्यांक पठाउनेलाई अवार्ड दिन सरकारसँग आग्रह गरेका छन्।
यस्तै प्रकाश पन्तले एउटा औषधि किन्न प्राइभेट मेडिकलमा जाउ भन्ने अस्पतालको समाचार देशकै पाँचौंमा परेको कसरी आउँछ ? भनेर प्रश्न गरेका छन्।
यी लगायत अन्य नागरिकले समेत अस्पतालको सेवा सुधारबारे चासो व्यक्त गरेका छन्।