–आभुषण तिम्सिना
आज २०८० सालको अन्तिम दिन। २०८० साललाई म साधुवाद दिन चाहन्छु। २०८० साल मेरो लागि अविस्मरणीय, ऐतिहासिक, महत्वपूर्ण अनि नयाँ अवसर र मौका लिएर आयो। जवानीका दिनहरुमा जब एक युवा जसलाई आफ्नो योग्यता, क्षमता, प्रतिस्पर्धात्मक सज्जनतामाथि अतुलनीय विश्वास, आत्मविश्वास अनि सुन्दर भविष्य निर्माण गर्ने आत्मविश्वास प्रगाढ हुन्छ त्यो समयमा उसले कुनै निर्णय लिनै पर्ने हुन्छ र लिन्छ एक सुन्दर भविष्य निर्माणको लागि।
उसलाई जीवनका यथार्थ र तिता सत्यहरुको बारेमा कसैले सिकाएको हुदैन। उ केवल आफ्नो क्षमता र योग्यतामाथि विश्वास गरेर अगाडि बढ्छ। मैले मेरो जवानीको दिनमा मेरो योग्यता र क्षमतामाथि विश्वास गरेर गरेको एक गलत निर्णयको बन्धनबाट मलाई मुक्त गराउने महत्वपूर्ण सालको रुपमा मेरो लागि २०८० साल रह्यो।
मैले २०५६ सालमा आफ्नै योग्यता माथि विश्वास गरेर माओवादि जनयुद्धको शुरुवाती समयमा जुन बेला माओवादी जनयुद्ध घातक र हिश्रक हुँदै थियो त्यो बेलामा यो मुलुकको लागि मुलुकको हीतको लागि जागिर खानुपर्छ भनेर प्रहरीमा जागिर खाने अठोट गरे र खाए पनि। मेहनत गरियो, पढियो, दिन रात पढेर लोक सेवाले लिएको परीक्षामा सामेल भइयो र आफ्नै बुताले प्रहरी निरीक्षकको रुपमा नाम निस्किदा म मर्यादाक्रमको पहिलो नम्बरमा नाम निकाल्न सफल भए।
मैले सोचे योग्यताको कदर हुन्छ। योग्य बन्नुपर्छ सक्षम बन्नुपर्छ पोग्य मानिसको समय हो यो। अल्लारे उमेर, युवा अबस्था, जवानीको वेगवान गति बोकेर प्रहरी सेवामा देश र जनताको सेवा गर्न हुइकिएको म बिस्तारै बिस्तारै प्रहरी बन्दै गए। तालिम केन्द्रमा गुरुवाहरुले दिएको ज्ञान, सिप, समय अनुसार बटुल्दै गएको अनुभवले खारिदै अगाडिको यात्रा गर्दै गए। प्रहरी निरीक्षकको रुपमा कार्यरत रहँदा हाकिमको आग्रह, अनुग्रह, प्रेरणा, संगत अनि तल्लो कर्मचारिहरुसँगको सामिप्यताले मलाई प्रहरी के रहेछ भन्ने कुरा बुझ्न समय लागेन।
तलका प्रहरी कर्मचारीहरुका समस्या बिस्तारै बुझ्दै जान थाले। प्रहरी कर्मचारी देशका अन्य सेवाका कर्मचारीहरु भन्दा बढि खटिन्छन्, मेहनती छन्, कम सुबिधामा कार्यरत छन् भन्ने बुझ्न समय लागेन। २०५६ सालमा सेवा प्रवेश गरेको म २०५८ सालमा पुगिसक्दा दशैंको मुखमा सप्तमीको दिनमा जवानको मेसमा फर्सी पाकेको देखेर हाकिमसँग झगडा गरेका दिन अहिले सम्झिदा ताज्जुब लाग्छ। अघिल्लो दिनसम्म कम्पाउण्ड भरि रहेका खसीहरु कतै अदृश्य शक्तिले उडाइ सकेछ।
अनि सिपाहिको मेसमा दशैंको सप्तमीको दिन फर्सी पाकेको देख्दा दुखेको मनलाई साम्य पार्न मैले आफूले जहाँ गए पनि जवानको मेसलाई प्राथमिकता दिनेछु भनेर प्रण नै गरेको धीए र त्यसलाई पछिसम्म पनि कायम नै राखे।
योग्यताको कदर गरिनुपर्छ, निष्ठाको कदर गरिनुपर्छ, इमान्दारिताको कदर गरिनुपर्छ, सामाजिक विभेद र थीचोमिचोको अन्त्य गरिनुपर्छ अनि न्यायिक सर्वोच्चता र कानूनी राज्य प्रति प्रतिबद्ध समाजको निर्माण गरिनुपर्छ भन्ने लोकतान्त्रिक सोच बोकेको म पहिलोपटक आफ्नो सोच अनुसारको व्यवहार गर्नुपर्छ भनेर पहिलो महत्वपूर्ण निर्णय स्वरुप सुदूरपश्चिमको दिपायलमा कार्यरत मलाई जब विदेश मिसन जानको लागि क्षेत्रीय प्रमुखले भन्दा मैले म त जाँच पास गरेर गइ हाल्छु नि जाँच मा पास गर्न नसक्ने तर उत्कृष्ट काम गर्नेलाई मौका दिनुहोस् भनेर भनेपछि मेरो सट्टामा जब डडेलधुराको कुनै स्थानमा माओवादी शिविरबाट भागेर हिडेका लुटेराको समूहलाई समात्न सफल एक जना विभागीय प्रहरी निरीक्षकको नाम पार्न सफल भए। मलाई आफ्नो योग्यतामाथि कुनै शंका थिएन। बरु मलाई आत्मसन्तुष्टि मिल्यो।
ड्युटीको क्रममा हतियार खोस्न आउने आन्दोलनकारीलाई हतियार बचाउन र आत्मरक्षाको लागि गोली हान्ने सिपाहिलाई जनकपुरमा जेल हाल्ने तयारि गर्दै गर्दा हाकिमसँग झगडा गरेर ड्युटिको बेलाको कार्यलाई त्यहि हिसाबले हेरिनुपर्छ भनेर प्रहरी विशेष अदालत गठन गरेर छानबिन गर्नुपर्छ भन्ने अडानका साथ विशेष अदालत गठन गरेर निजलाई प्रचलित कानुन बमोजिम सफाइ दिने कार्य गर्दै गर्दा मलाई संगठन र यसका सदस्य प्रति केहि त गर्नसके भन्ने लागेको थियो। त्यसैगरि जनकपुरमा सञ्जय टक्लाको दादागिरी पूर्ण कदमा थियो त्यो समयमा प्रहरीको कार्यालयमा आक्रमण गरेर प्रहरी कार्यालय जलाउने प्रयास टक्लाको उपस्थितिमा भयो।
तब समाजको सुरक्षा गर्ने प्रहरी नै सुरक्षित नभए कसरी यसले समाजलाई सुरक्षा प्रदान गर्न सक्छ भनेर जिल्ला सुरक्षा समितिका सबै पदाधिकारिको उपस्थितिमा बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने भनेपछि पाएको आदेश बमोजिम गर्दा मलाई नेपाल प्रहरीका आफूलाई बहुत व्यवसायीक अधिकृत थिए भन्न रुचाउने एक जना अधिकृत सहितको टोलीले ५ वर्ष पदोन्नति रोक्काको सिफारिस गरेको क्षणलाई पनि म कसरी बिर्सु। एक तल्लो दर्जाको अधिकृत प्रहरी नायब निरीक्षकलाई फसाउन नेपाल प्रहरीकै तत्कालीन द्वीतिय श्रेणीका अधिकृतले सञ्जय टक्लासँग मिलेर कसरी त्यो घटना घटाए भन्ने कुरो पछि बनेको छानबिन समितिले सार्बजनिक गरेपछि मैले पनि धेरै कुरा बुझ्न र बुझाउन पाएझै लाग्छ।
भक्तपुरको नगरकोटको मेलामा घटेको नरसंहारको समयमा गरिएको ड्युटी, भक्तपुरकै दधिकोटमा माओवादी आक्रमणमा परेर नेपाल प्रहरीका प्रहरी नायव निरीक्षकले सहादत प्राप्त गरेको समयमा भागेका आतंककारीहरुलाई पक्रिन गरेको अनुरोधलाई बाटामै बसेको सेनाले गरेको असहयोग, दरवारमार्गमा कार्यरत रहँदा बटुवालाई गाडीले ठक्कर दिएर उल्टै बटुवालाई बिच बाटोमा कुट्ने भरतकेशर सिंहलाई पक्रेर ल्याउँदा संगठनले राखेको दुराग्रह र उपेक्षा, सेनाको टोलीले प्रहरी टोलीलाई दरवारमार्ग प्रहरीबाट अपहरण शैलीमा लगेको समयमा त्यो बेलाका संगठन प्रमुख र जिल्ला प्रहरी प्रमुखले देखाएको गैरजिम्मेवारिपूर्ण व्यवहार र कृयाकलाप, अनि तिनै घटनाका आधारमा मलाई रुखो स्वभाव र व्यबहार भएको भनेर गरिएको दुराग्रहपुर्ण कारवाही अनि पदोन्नतिको समयमा मलाई जानाजान पछाडि पारिएको घटनाले मलाई बिस्तारै प्रहरी संगठन योग्यहरु अट्ने संगठन होइनकि जस्तो लाग्न थालिसकेको थियो।
तर पनि नेपाल प्रहरीमा काम चाहि गरिरहने कसो कुनै दिन सहि मुल्यांकन कसो नहोला भनेर कामलाई नै प्राथमिकता दिने परिपाटि विकास गरिसकेको थिए मैले।
काम गर्दै जाँदा धेरै कामहरु गरिए तर ति कामको मुल्यांकन भनेको त हात्तीको देखाउने दाँत रहेछ। प्रहरीमा मुल्यांकन भनेको त केबल देखासिकि मात्रै रहेछ भन्ने कुरा त मैले तब बुझे जब अकों पदोन्नतिको समय आयो। प्रहरीको डिएसपीको रुपमा कार्यरत रहँदा मैले गरेका कामहरुको तुलनात्मक अध्ययन गर्ने हो भने मैले गरेको जत्ति काम थोरैले मात्रै गरेका छन भनेर प्रमाणीत गर्ने स्थान हुँदा हुँदै पनि मलाई थप पर धकेलियो। नाकाबन्दीमा ड्युटि गर्नेदेखि लिएर भूकम्पमा जिवीत उद्धार गर्ने सम्मको काम गरेको मैले पदोन्नतिको समयमा झन धेरै अपमान सहनुपर्यो। पदोन्नति त भइयो तर अनेक षडयन्त्रलाई चिर्न मलाई हम्मे हम्मे पर्यो।
म मेरो जागिर अवधिमा धेरै पुलिसका हाकिमहरुको घरमा धाएको थिइन्। मलाई हाकिमको घर खोज्ने चाहना पनि भएन घर घर धाउने इच्छा पनि भएन। तर प्रहरीमा सफल हुन हाकिमको घर धाउनु आवश्यक रहेछ, नेताको घर धाउनु झन अत्यावश्यक रहेछ, अझ केहि दलाल समूहमा आवद्ध रहनु त अत्यावश्यक रहेछ।
कुनै दिन म सिन्धुलीको एसपीको रुपमा रहँदा आफूलाई बहुत स्मार्ट र व्यवसायीक भनेर दाबी गर्ने संगठन प्रमुखले मलाई कुनै दलको सामान्य कार्यकर्ताले एक एकल महिलामाथि गरेको यौन दुर्व्यवहारको विषयलाई लिएर मलाई पक्राउ परेको दोषिलाई छाड्छौ कि तानिदिउ भनेर दबाब दिएर मलाई मुद्दा चलाउन नै नदिएको विषय सम्झिएपछि मेरो ति हाकिमसँग निकै ठूलो घमासान झगडा पनि परेको थियो। त्यसपछि विस्तारै मेरो प्रहरी संगठनमा सहि मानिसको लागि स्थान नै छैन कि भन्ने धारणा बढ्दै गयो।
मैले २०८० साल सम्म जागिर खाँदै गर्दा धेरै देखे, धेरै सहे तर २०८० ले मलाई अब यो बाटो तेरो होइन भन्ने देखायो। मेरा लागि अनेक बाटाहरु छन, अवसरहरु पर्खि बसेका छन् भन्ने बुझ्न सक्ने वुद्धि दियो, त्यसैले मेरो लागि २०८० साल अविस्मरणीय र महत्वपूर्ण छ। आज यो २०८० सालको अन्तिम दिन अनि अन्तिम रात म कसरी २०८० साललाई साधुवाद नदिइ बस्नसक्छु।
२०८१ सालले नेपाल प्रहरीलाई यस्तो नेतृत्व दियोस जुन अहिले सम्मका नालायक नेतृत्वले बिगारेका सबै पाटाहरुलाई सुधारेर नागरिक सेवाप्रति प्रतिवद्ध, योग्यताको कदर हुने, कामको मुल्यांकन हुने, नातावाद, कृपावाद, चाकरि, चाप्लुसिको घेराभन्दा धेरे परको सक्षम प्रहरी संगठन बनाउन सकोस्। अपराध अनुसन्धान गर्दा एउटा हाकिम हुँदा निर्दोष, अर्को हाकिम हुँदा दोषी नबनाउने सक्षम संगठन बनाओस्। ललिता निवास, नक्कली भुटानी शरणार्थी, सुन काण्डको अनुसन्धान गर्नेहरु नै दोषीको कठघरामा बस्नु नपर्ने गरि अनुसन्धान गर्न सक्षम संगठन बनाओस्। नेपाल प्रहरी भनेको योग्यहरुको संगठन हो भनेर सिद्ध गरोस्।
नत्र आजको दिनमा आत्मसम्मान भएका नेपाली युवाहरुले नेपाल प्रहरीमा जागिर खाएर आफ्नो योग्यताको कदर हुन्छ भन्ने विश्वास लिनसक्ने अबस्था नै रहेन हालसालैका गतिविधि र कृयाकलापहरुलाई गहिरिएर मनन गर्ने हो भने।
शुभकामना नेपाल र नेपाली
शुभकामना नेपाल प्रहरी