धनगढी: धनगढीमा दोस्रोपटक फेरिएका सडक बत्तीसमेत गुणस्तरहीन भएको बताइएको छ। धनगढी उपमहानगरपालिका र सडक बत्ती प्रवर्द्धन आयोजना अन्तर्गत जडान गरिएका ‘स्मार्ट स्ट्रिट लाइट’ दोस्रोपटक पनि गुणस्तरहीन भेटिएका हुन्।
धनगढीको ट्राफिक चौराहदेखि कैलाली भन्सारसम्म र क्याम्पस चोक क्षेत्रको हुलाकी सडकमा दोस्रोपटक जडान गरिएका बत्ती गुणस्तरहीन पाइएका हुन्।
यस अगाडि जडान गरिएका बत्ती पनि नक्कली प्रमाणीत भएका थिए। अहिले फेरि नक्कली निस्केपछि गुणस्तरीय बल्ब जडानका लागि उपमहानगरपालिकाले निर्माण कम्पनीलाई निर्देशन दिएको छ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालका अनुसार दोस्रोपटक जडान गरिएका बत्तीहरूसमेत सम्झौता अनुसार जडान भएका छैनन्।
धनगढी उपमहानगरपालिकाले ठेक्का मार्फत ७६ लाखमा बत्ती जडान गर्न लगाएको थियो। ड्राइभ इलेक्टोनिक्स प्रालिले सो बत्ती जडान गरेको बताइन्छ।
र, यो पनि: धनगढीमा जोडिएका लाइट सबै ‘नक्कली’ !