वासिङटन : अमेरिकामा कोभिड–१९ का थप दुई नयाँ भेरियन्ट देखिएको छ । ओमिक्रोनभन्दा बढी छिटो सर्ने र कोरोनाविरुद्धको खोप लगाइएका शरीरमा समेत आक्रमण गरेर संक्रमित गराउने खालको नयाँ दुईवटा भेरियन्ट बीए ४ र बीए ५ संयुक्त राज्य अमेरिकामा पनि देखिएको छ ।
यसले नयाँ महामारीको संकेत दिएको हुन सक्ने बताइएको छ । बीए ४ र बीए ५ दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन बीए १ जस्तै भएको बताइएको छ । गएको साता ब्लुमबर्गले जनाएअनुसार झन्डै सबै दक्षिण अफ्रिकीले खोप लगाइसके पनि संक्रमणका घटना बढिरहेको छ ।
विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कोरोनाको पहिलो लहरपछि पोजिटिभको स्तर ५ प्रतिशतभन्दा कम भएको खण्डमा समुदाय खुला गर्न सकिने सिफारिस गरेको थियो । कोरोनाविरुद्धको खोप लगाइसकेका र ओमिक्रोनको सिकार भइसकेका दुवै खालका मानिसलाई नयाँ भेरियन्टले आक्रमण गरेको खण्डमा बिरामी पर्ने बताइएको छ ।
तर, दक्षिण अफ्रिकाका एक वरिष्ठ कोरोना अनुसन्धानकर्ता एलेक्स सिगलले त्यस्ता बिरामीलाई सम्भवतः अस्पतालै भर्ना गर्नु नपर्ने र उनीहरूको ज्यान पनि नजाने फोर्च्युनलाई बताएका छन् ।